२०८३ साउन १५ गते शुक्रवार

नेपालको पहिलो अन्तरिम सरकारकी महिला प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ



नेपालको पहिलो अन्तरिम सरकारकी महिला प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

कमल कुमार शाही
स्वाभिमान खबर, भदौ २७, काठमाडौं

नेपालको पहिलो अन्तरिम सरकारकी महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमाकाे नयाँ भवनमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री पदमा शपथ गराएका हुन्।
पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीलाई जेनजी आन्दोलन र राजनीतिक सहमतिका आधारमा अन्तरिम सरकार प्रमुखको जिम्मेवारी दिइएको हो। विशेषगरी जेनजी आन्दोलनमा सहभागी युवाबीच भएको खुला मतदानमा उनको नाममा बहुमत धेरै मत प्राप्त भए पछि औपचारिक रूपमा सरकार गठनको प्रक्रिया अघि बढाइएको थियो।

त्रिपक्षीय वार्ता र संवैधानिक बाटो

जेनजी आन्दोलनका वार्ता प्रतिनिधि, प्रधान सेनापति अशोक राज सिग्देल र राष्ट्रपति रामचन्द्र पौडेलबीच तीन दिनसम्म त्रिपक्षीय वार्ता चलेपछि अन्तरिम सरकार गठनको बाटो खुलेको हो। संविधानविद्हरूको सुझावअनुसार संसद विघटनसहितको समाधान खोज्ने सहमतिमा पुग्दा कार्कीलाई संसदबाहिरबाटै प्रधानमन्त्री नियुक्त गरिएको हो।

प्रधानमन्त्री कार्कीको प्राथमिकता

शपथपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै कार्कीले भनिन्,
“अन्तरिम सरकारमार्फत जनताले माग गरेको परिवर्तनलाई संस्थागत गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र लोकतान्त्रिक मूल्यलाई मजबुत पार्ने मेरो पहिलो प्राथमिकता हुनेछ।”
उनले राष्ट्रिय सहमति, पारदर्शी शासन र सामाजिक न्यायलाई आफ्नो नेतृत्वको आधार बनाउने स्पष्ट गरिन्।

समारोहमा उपस्थिति र राजनीतिक शपथ

समारोहमा पूर्वप्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा आन्दोलनमा सक्रिय युवा जेनजी कार्यकर्ताहरूको उपस्थिति थियो।
विश्लेषकहरूका अनुसार मुलुकको पहिलो अन्तरिम सरकारमै महिला नेतृत्वको उदय हुनु सामाजिक समानता र राजनीतिक समावेशिताको दृष्टिले महत्वपूर्ण उपलब्धि हो। त्यसमाथि ऊर्जा क्षेत्रका प्राविधिक कुलमान घिसिङ जस्ता व्यक्तिलाई मन्त्री बनाएर सरकारले व्यावसायिक र नतिजामुखी टीम बनाउने संकेत दिएको छ ।
अब सबैको ध्यान प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्ले जेनजी आन्दोलनमा उठाइएका मागहरू सम्बोधन गर्दै जनअपेक्षाअनुसार कस्तो नतिजा दिन्छ भन्नेमा केन्द्रित भएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार