४५ वर्षे पार्टी सदस्यता अनुभव, मलाई रोक्न मिल्दैन : विद्या भण्डारीको कडा सन्देश
कमल कुमार शाही
स्वाभिमान खबर साउन ९ , काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो ४५ वर्षे पार्टी सदस्यता अनुभवको आधारमा आफूलाई नेकपा एमालेको सदस्यताबाट रोक्न नमिल्ने बताएकी छन्। एमालेको केन्द्रीय कमिटी बैठकले उनको सदस्यता नवीकरणमा रोक लगाउने निर्णय गरेपछि पहिलो पटक बोल्दै उनले सो निर्णयको खुला आलोचना गरेकी हुन्।
काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले भनिन्, ‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य बनेको ३५ वर्ष भइसकेको थियो, अहिले त्यो अनुभव ४५ वर्ष पुगिसकेको छ। यस्तो अवस्थामा मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न मिल्दैन।’
उनका अनुसार एमालेले गरेको निर्णय अवैध र अपरिपक्व छ। उनले थप भनिन्, ‘छलफलबिना, विवेक र नीतिगत दृष्टिकोणबाट टाढा बसेर गरिएको निर्णयले पार्टीको साख गिराउने काम गर्छ। यसले सत्यलाई केही समय ढाक्न सक्ला, तर वास्तविकता कहिल्यै ढाक्न सकिँदैन।’
विद्या भण्डारीले पार्टी निर्माणका क्रममा आफू लगायत हजारौं कार्यकर्ताले रगत पसिना बगाएको स्मरण गराउँदै भनिन्, ‘म कुनै भावनामा बगेर यी कुरा गरिरहेकी छैन। पार्टी निर्माणमा हाम्रो योगदान स्पष्ट छ। जनवादी केन्द्रीयताको सिद्धान्तविपरीत निर्णय गर्नु न पार्टीको हितमा हो, न जबजको मर्मअनुकूल।’
उनले आग्रह गरिन् कि पार्टीभित्र कुनै पनि निर्णय विचारपूर्वक, गहिरो छलफलपछि मात्र लिनुपर्छ।
यसैबीच, नेकपा एमालेभित्र विद्या भण्डारीको सक्रिय राजनीतिमा पुन: प्रवेशबारे भएको विवाद सार्वजनिकरूपमा चुलिएको छ। भण्डारीको प्रेस सम्मेलनले यो विषय झनै चासोको केन्द्र बनेको छ।













प्रतिक्रिया दिनुहोस्