२०८३ भाद्र ३० गते मङ्गलवार

शल्यक्रिया गरियो, तर पत्थरी भेटिएन : एकपछि अर्को लापरबाहीले पीडित बन्दै बिरामी



शल्यक्रिया गरियो, तर पत्थरी भेटिएन : एकपछि अर्को लापरबाहीले पीडित बन्दै बिरामी
कमल कुमार शाही
साउन २, २०८२  वीरेन्द्रनगर, सुर्खेत

प्रदेश अस्पताल सुर्खेतमा पत्थरीको शंका लागेर गरिएको अप्रेसनपछि पत्थरी नै नभेटिएपछि रामु साउद नामकी एक बिरामी थप पीडामा परेकी छिन्। लेकबेंसी–१० सुर्खेतकी ३५ वर्षीया रामु साउद दुई महिनाअघि पेट दुखेको गुनासो लिएर अस्पताल गएकी थिइन्। परीक्षणपछि मिर्गौलामा १३ एमएमको पत्थरी देखिएको भन्दै अप्रेसनका लागि असार ३० गतेको मिति दिइयो। तर, अप्रेसन गर्दा न पत्थरी भेटियो, न त समस्या समाधान भयो। अहिले उनी अस्पतालको सर्जरी वार्डको १२० नम्बर बेडमा थला परेकी छिन ।

अपरेसन भयो, पत्थरी छैन!

रामु साउदलाई सिटी स्क्यानका लागि वीरेन्द्रनगर बजारस्थित देउती नर्सिङ होममा पठाइयो। सिटी स्क्यान रिपोर्टमा मिर्गौलामा पत्थरी देखिएको भनियो। अस्पतालको रिपोर्टकै आधारमा अप्रेसन गरिएको थियो। तर, शल्यक्रियापछि न पत्थरी भेटियो न त समस्याको ठोस कारण।

“डाक्टरले १३ एमएमको पत्थरी भनेर अप्रेसन गरे तर अप्रेसनमा पत्थरी भेटिएन। सिटी स्क्यान गलत थियो भने किन अप्रेसन भयो?” रामुले गुनासो पोखिन्, “बिना कारण पीडा दिए, खर्च पनि भयो। मलाई स्वास्थ्यको सट्टा हैरानी मात्रै भयो।”

अस्पतालमा धम्की, फाइल गायब

रामुका पति खडानन्द साउद भन्छन्, “फाइल कहाँ छ भन्ने थाहा छैन। बिरामीको बेडमा पनि कागज छैन। उल्टै डाक्टरहरूले हामीलाई धम्की दिन थालेका छन्।” उनी भन्छन्, “सोधखोज गर्न खोज्दा चिकित्सकहरू पटक–पटक आक्रोश पोख्छन्, धम्क्याउँछन्। हामीलाई थप मानसिक तनाव भएको छ।”

च्याउ टिपेर गुजारा, अस्पतालले थप पीडामा

मुगुकी रामु साउद परिवारसहित सुर्खेतको लेकबेंसीमा बस्छिन्। जंगलबाट च्याउ टिपेर गुजारा चलाउने उनी अहिले उपचारकै लागि सास्ती खेपिरहेकी छन्। देउती नर्सिङ होममा सिटी स्क्यान गर्दा १२ हजार, अपरेसन गर्दा २५ हजारजति खर्च भएको बताइन्छ। “अब थप उपचार गर्न पनि पैसा छैन,” उनले भनिन्।

डा. थापाको भनाइ : लापरबाही होइन

प्रदेश अस्पतालका निमित्त प्रमुख डा. गणेश थापा भन्छन्, “सिटी स्क्यान र भिडियो एक्सरेमा देखिएको आधारमा अप्रेसन गरियो। तर, पत्थरी भेटिएन। लुकेको पनि हुन सक्छ, बाहिर निस्किएको पनि हुन सक्छ।” उनले यसलाई लापरबाही नभएको दाबी गरे।

यसअघि पनि यस्तै घटना दोहोरिएका छन्

रामु साउदको मात्र घटना होइन। प्रदेश अस्पतालमा यसअघि पनि लापरबाहीका गम्भीर उदाहरणहरू छन्:

दुई वर्षीया कुसुम कटुवालको मृत्यु (०७८ असोज): नाकमा मकैको दाना अड्किएको बालिकाको उपचारमा ढिलाइ गर्दा ज्यान गयो। आफन्तको आरोप : औषधिको मात्रा बढी दिइयो।

सुत्केरी जानकी रेग्मीको मृत्यु (०८० भदौ): सामान्य सुत्केरी भएपछि जनरल वार्डमा राखिएकी जानकीको एक्कासि मृत्यु भयो। अस्पष्ट कारण र अस्पतालको मौनता।

भीमा गुरुङ बलामीको मृत्यु (०८० चैत): पाठेघरको समस्या लिएर भर्ना भएकी २२ वर्षीया भीमा अप्रेसनकै क्रममा ज्यान गुमाइन। अदालतले अस्पताललाई लापरबाहीमा दोषी ठहर गर्दै १५ लाख क्षतिपूर्तिको फैसला गर्‍यो।

१९ वर्षीया शर्मिला कुमालको सुत्केरीको क्रममा मृत्यु (०८१ असोज): रक्तस्रावका कारण ज्यान गुम्यो, तर कुनै छानबिन नै भएन।

पञ्चदेव विनायक नगरपालिका ८ बारलाका १७ बर्षीय दिपेन्द्र बहादुर शाहीको बिग्रेको सिटीस्क्यानले स्क्यान गरेर अप्रेसन गरेपछि मृत्यु भएको आफन्तकाे आराेप ( २०८०/ असाेज)

अस्पताल बाहिरी रूपमा सम्पन्न, भित्र सेवा कमजोर

महिला अधिकारकर्मी पद्मा खड्काको भनाइमा, “अस्पताल भौतिक रूपमा सम्पन्न भए पनि सेवामा लापरबाही दोहोरिइरहेको छ। सरकार र अस्पताल प्रशासन जिम्मेवारीबाट पन्छिँदै आएका छन्।”

प्रदेश सरकारका जिम्मेवार व्यक्ति—मुख्यमन्त्री यामलाल कँडेलले ‘बोलाउँला’ भनेर फोन काटे भने, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले फोनै उठाएनन्।

सुधारका लागि सुझाव, कार्यान्वयन शून्य

०८१ मंसिरमा डा. भगवान कोइरालाको नेतृत्वमा बनेको उच्चस्तरीय समितिले ०८१ चैतमा प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको थियो। जसमा:

अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने
विशेषज्ञ डाक्टर थप गर्ने
जनशक्तिको पुनःसंरचना गर्ने
सेवा गुणस्तरीय बनाउने
जुम्लाको स्वास्थ्य प्रतिष्ठानसँग सहकार्य गर्ने
जस्ता महत्वपूर्ण सुझावहरू थिए। तर, प्रतिवेदन कार्यान्वयन हुने कुनै संकेत छैन।

कर्णालीको एक मात्र ठूलो सरकारी अस्पतालमा उपचार खोज्दै जाने सर्वसाधारण बारम्बार लापरबाहीको सिकार भइरहेका छन्। सस्तो, सहज र भरपर्दो उपचार सेवा दिनुपर्ने अस्पताल आफैं बिरामीजस्तै देखिन्छ। अब लापरबाहीमाथि पर्दा हाल्ने होइन, गम्भीर अनुसन्धान र कार्यान्वयन गर्ने बेला हो। रामु साउदहरूको आँसुको मूल्य कहिले बुझिन्छ?

[स्वाभिमान खबर – जनताको आवाजमा जनताको समाचार]

(स्रोत -Annapurnpost)

प्रकाशित मिति : २०८२ साउन ३ गते शुक्रवार