२०८३ जेष्ठ १४ गते बिहिवार

“ढकारी गाउँपालिकाको ४३ करोडको बजेट : सुत्केरी महिलाका लागि हातको हात खर्च, स्वास्थ्यमा विशेष जोड”



“ढकारी गाउँपालिकाको ४३ करोडको बजेट : सुत्केरी महिलाका लागि हातको हात खर्च, स्वास्थ्यमा विशेष जोड”
कमल कुमार शाही
स्वाभिमान खबर ,असार १०अछाम, ढकारी ।

अछाम । ढकारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४३ करोड २ लाख २ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १५औँ गाउँसभामा उपाध्यक्ष नेत्रकलादेवी शाहीले बजेट प्रस्तुत गरेकी थिइन्।

बजेट अनुसार चालु खर्चतर्फ ३४ करोड १२ लाख ७१ हजार ६ सय रुपैयाँ र पुँजीगततर्फ ८ करोड ३९ लाख ३० हजार ४ सय रुपैयाँ विनियोजन गरिएको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब २ करोड २० लाख रुपैयाँले बढी हो।

पालिकाले आठै वडाका लागि २ करोड १२ लाख ४९ हजार रुपैयाँ छुट्याएको छ। वडागत योजनामा वडा नं. १ र २ मा १६-१६, वडा नं. ३ मा २१, वडा नं. ४, ५ र ७ मा १०-१०, वडा नं. ६ मा १७ र वडा नं. ८ मा ३ योजना पारित गरिएको छ।

विकास प्राथमिकता र क्षेत्रगत बजेटः

सामाजिक विकास : ५ करोड ३९ लाख १० हजार

पूर्वाधार विकास : ५ करोड ५ लाख ७१ हजार

आर्थिक विकास : ३३ लाख ३३ हजार

पालिकाले कृषि, पशु सेवा, स्वास्थ्य, उद्यम, विपद् व्यवस्थापन, शिक्षा, खेलकुद, महिला-बालबालिका, पोषण, भूमि व्यवस्थापन र स्वरोजगार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेको छ।

सुत्केरी महिलाका लागि विशेष योजना:
गाउँपालिकाले यस वर्षदेखि सुत्केरी महिलालाई ‘हातको हात सुत्केरी खर्च’ दिने महत्वकांक्षी कार्यक्रम सुरु गरेको छ।

नियमित गर्भ जाँचपछि सुत्केरी हुने महिलालाई रु. २,८००

संस्थागत सुत्केरी मात्र हुनेलाई रु. २,०००

अघिदेखि नै दिँदै आएको गर्भवती भत्ता रु. १,००० पनि यथावत रहनेछ।

अध्यक्ष प्रकाशबहादुर साउँदका अनुसार, स्वास्थ्य सेवा विस्तार अन्तर्गत गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा समेत सुरु गरिनेछ।

नयाँ बजेटबाट ग्रामीण जनताको जीवनस्तर सुधार, स्वास्थ्य पहुँच, महिला सशक्तीकरण र आधारभूत सेवामा पहुँच वृद्धि हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार