शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता: कनकासुन्दरी गाउँपालिकाको ४९ करोडको बजेट सार्वजनिक
कमल कुमार शाही
स्वाभिमान खबर , जुम्ला असार १०
जुम्लाको ऐतिहासिक तथा पर्यटकीय सम्भावना बोकेको कनकासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४९ करोड ७१ लाख ७३ हजार ९९६ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
जुम्लाका आठवटा स्थानीय तहहरूमध्ये नीति, कार्यक्रम र बजेट पारित गर्ने पहिलो पालिका बनेको कनकासुन्दरीले शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार र पर्यटनलाई बजेटको प्राथमिक क्षेत्रमा राखेको छ।
गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले नीति तथा कार्यक्रम सार्वजनिक गरे भने उपाध्यक्ष प्रेमकली बुढाले बजेट प्रस्तुत गरेकी हुन्। प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीका अनुसार, समग्र विकासलाई ध्यान दिँदै समावेशी र सन्तुलित योजना निर्माण गरिएको छ।
गाउँपालिकाको नीति तथा कार्यक्रममा सामाजिक सशक्तीकरण, रोजगारी प्रवर्द्धन, स्वास्थ्य सेवा पहुँच अभिवृद्धि, गुणस्तरीय शिक्षा र कृषि उत्पादन वृद्धिमा जोड दिइएको छ। साथै, पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा संरक्षणलाई संवेदनशील रुपमा अघि बढाइने उल्लेख गरिएको छ।
जटिल भूगोल, अझै चुनौती
८ वटा वडा समेटिएको कनकासुन्दरी गाउँपालिका भौगोलिक हिसाबले चुनौतीपूर्ण मानिन्छ। वडा नम्बर १, २ र ३ का बस्तीहरू अझै पनि आधारभूत पूर्वाधारका दृष्टिले पछि परेका छन्। संघीय संरचनापछि केही सकारात्मक विकास भएका भएपनि, ती वडामा विकासको गतिलाई तीव्र बनाउन विशेष योजना ल्याइने बताइएको छ।
संघीयतापछि परिवर्तनको संकेत
संघीयताले स्थानीय सरकारलाई सशक्त बनाइदिएसँगै कनकासुन्दरी गाउँपालिकाले पनि नीति निर्माण र बजेट व्यवस्थापनमा देखिएको सक्रियता सकारात्मक रूपमा हेरिएको छ। ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्पदाले भरिपूर्ण कनकासुन्दरीले स्थानीय स्रोत साधनको प्रभावकारी प्रयोगमार्फत विकासको नमूना दिन सक्ने विश्वास गरिएको छ।













प्रतिक्रिया दिनुहोस्