२०८३ साउन १२ गते मङ्गलवार

कर्णालीमा पहिलोपटक पक्षघात उपचार तालिम सम्पन्न, ११ अस्पतालका ६८ स्वास्थ्यकर्मी सहभागी



Screenshot

कर्णालीमा पहिलोपटक पक्षघात उपचार तालिम सम्पन्न, ११ अस्पतालका ६८ स्वास्थ्यकर्मी सहभागी

कमल कुमार शाही
स्वाभिमान खबर, असोज १ सुर्खेत।
कर्णाली प्रदेशमा पहिलोपटक आयोजित पक्षघात (स्ट्रोक) उपचारसम्बन्धी विशेष तालिम सफलतापूर्वक सम्पन्न भएको छ। प्रदेशका ११ वटा सार्वजनिक तथा निजी अस्पतालहरूबाट ६८ जना स्वास्थ्यकर्मीको सहभागितामा वीरेन्द्रनगरमा सम्पन्न तालिमले कर्णालीमा स्ट्रोक उपचार सेवाको गुणस्तर अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको आयोजनामा भएको प्रशिक्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले स्ट्रोक पहिचानदेखि आपतकालीन उपचार, थ्रोमोलाइसिस प्रविधि, रेडियोलोजिकल विश्लेषण तथा पुनर्स्थापन (रिहाब) सेवासमेतबारे सैद्धान्तिक र व्यवहारिक दुवै प्रकारको ज्ञान प्रदान गरेका थिए।

कार्यक्रमका संयोजकले यस्तो महत्वपूर्ण तालिम कर्णालीमै आयोजना गर्न पाउनु गौरवको विषय भएको उल्लेख गर्दै नेपाल स्ट्रोक एशोसिएसनका डा. लेखजंग थापा र नेपाल स्ट्रोक प्रोजेक्टका डा. राजु पौडेलले कार्यक्रमका लागि आफ्नो सम्पूर्ण समय र नेतृत्व समर्पण गरेकामा विशेष कृतज्ञता व्यक्त गरे।

त्यस्तै कर्णालीका अग्रज चिकित्सक डा. डम्बर खड्का, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापा तथा नेपालगञ्जबाट सहभागी वरिष्ठ रेडियोलोजिस्ट डा. प्रसन्न राज घिमिरेलाई पनि विशेष धन्यवाद व्यक्त गरिएको छ।

स्वास्थ्यकर्मीहरूको सहभागिता, उत्साह र व्यवहारिक अभ्यासलाई हेर्दा तालिमले कर्णालीमा स्ट्रोक उपचारका लागि सक्षम, जुझारु र नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिने आयोजकको विश्वास छ।

तालिम सम्पन्नसँगै प्रदेशका अस्पतालहरूले समयमै स्ट्रोक पहिचान र उपचार क्षमता अभिवृद्धि गरी प्रभावकारी सेवा दिन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते सोमवार