मध्यपश्चिम विश्वविद्यालयमा नेपाल–कोरिया शैक्षिक सहकार्य सुदृढ, विद्यार्थी करिअर नेटवर्किङमा त्रिपक्षीय सहमति
कमल कुमार शाही
स्वाभिमान खबर,माघ २२
वीरेन्द्रनगर, सुर्खेत
मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत विशेष आवश्यकता शिक्षा (Special Needs Education) का विद्यार्थीहरूलाई लक्षित गरी करिअर नेटवर्किङ, क्षमता विकास र अन्तर्राष्ट्रिय अवसर विस्तारका विषयमा केन्द्रित त्रिपक्षीय वैठक सम्पन्न भएको छ। आज मिति २०८२ साल माघ २२ गते विश्वविद्यालयका प्रमुख पदाधिकारी, दक्षिण कोरिया स्थित लीडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेशन (LUPIC) परियोजनाका अधिकारी तथा सम्बन्धित संघ–संस्थाका प्रतिनिधिबीच शिष्टाचार भेटसहित विस्तृत छलफल भएको हो।
वैठकमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले परियोजनासँग आबद्ध दक्षिण कोरियाली प्रतिनिधिहरूलाई स्वागत गर्दै विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय करिअर अवसर, सीप अभिवृद्धि तथा भावी शैक्षिक सहकार्यका सम्भावनाबारे धारणा राख्नुभयो। उहाँले LUPIC परियोजनामार्फत नेपालको शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दै यस सहकार्यले नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
कर्णाली प्रदेशमा अवस्थित एकमात्र विश्वविद्यालयको रूपमा मध्यपश्चिम विश्वविद्यालय केवल शैक्षिक कार्यक्रममै सीमित नभई समाजप्रतिको उत्तरदायित्व वहन गर्दै समुदायसँग जोडिएर काम गर्दै आएको उपकुलपति गौतमको भनाइ थियो। उहाँले LUPIC परियोजनाबाट प्राप्त प्राविधिक सहयोगले समावेशी शिक्षाको प्रवर्द्धनमा विश्वविद्यालयको प्रतिबद्धतालाई थप बलियो बनाएको पनि स्पष्ट पार्नुभयो।
LUPIC परियोजनाका निर्देशक प्रा. डा. डाए योङ जङले परियोजनाको तर्फबाट आगामी दिनमा संयुक्त शैक्षिक कार्यक्रम, अनुसन्धान सहकार्य र विद्यार्थी केन्द्रित करिअर सुनिश्चितताका विषयमा विस्तृत प्रस्तुति राख्नुभयो। दुई देशका शैक्षिक संस्थाबीच सहकार्य विस्तार गर्ने र विद्यार्थीहरूको व्यावसायिक भविष्यलाई सुदृढ बनाउने विषयमा सकारात्मक छलफल भएको बताइएको छ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलसहित विभिन्न संकायका डीनहरू, परीक्षा व्यवस्थापन प्रमुख, कार्यकारी निर्देशक, विभागीय प्रमुख, प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। LUPIC परियोजनाको तर्फबाट नेपालस्थित प्रोजेक्ट म्यानेजर किम यूनयोङ, छांङ्ग्वान नेसनल युनिभर्सिटीका प्रा. डा. सु–ह्युन ली तथा PABSON, N-PABSON र HISSAN का प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए।
ग्र्याजुएट स्कूल अफ एजुकेसनका डीन प्रा. डा. यमबहादुर कार्कीले सहजीकरण गर्नुभएको उक्त वैठकले विशेष आवश्यकता शिक्षा अध्ययनरत विद्यार्थीहरूको करिअर नेटवर्किङ, अन्तर्राष्ट्रिय पहुँच र शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्