गुराँस गाउँपालिकाको ७३ करोडको बजेट : कृषि, पर्यटन र सूचना प्रविधिमा बल
कमल कुमार शाही
स्वाभिमान खबर, दैलेख असार १०
गुराँस गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७३ करोड ६१ लाख ४४ हजार ९५५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष शिवाकुमारी खड्काले सार्वजनिक गरेको बजेट समृद्ध, प्रविधिमैत्री, पर्यटनमुखी र आत्मनिर्भर गाउँपालिका निर्माणतर्फ लक्षित गरिएको छ।
बजेट सार्वजनिक कार्यक्रममा उपाध्यक्ष खड्काले भने, “हामीले आर्थिक, भौतिक, सूचना प्रविधि र पर्यटन पूर्वाधारमा लगानी बढाउँदै समुन्नत गाउँपालिका बनाउने स्पष्ट योजना अघि सारेका छौं।”
कृषिमा आधुनिकता, कृषकलाई सम्मान
बजेटमा भू-उपयोग नीति अवलम्बन गरी कृषि व्यवसायीकरण, विविधिकरण र बजारीकरण गरिनेछ। यसबाट कृषकहरूको जीवनस्तर माथि उठाउने र कृषि पेसालाई सम्मानजनक बनाउने लक्ष्य लिइएको छ। साथै, आर्थिक क्षेत्रका सबै गतिविधिमा स्वच्छता, जवाफदेहीता र प्रतिस्पर्धा प्रवर्द्धन गरिने बताइएको छ।
स्वास्थ्य सेवामा सुलभता र पहुँच
गाउँपालिकाले सबै नागरिकलाई पूर्ण खोप सुनिश्चितता, घरदैलो सेवा, सुरक्षित मातृत्व र आधारभूत स्वास्थ्य सेवा प्रत्याभूति दिलाउने गरी बजेट विनियोजन गरेको छ।
शिक्षा र सूचना प्रविधिमा लगानी
शिक्षालाई वैज्ञानिक, व्यवहारिक र प्रविधिमैत्री बनाइनेछ। यसमार्फत सक्षम जनशक्ति उत्पादन गर्न सहयोग पुग्नेछ। साथै, सबै वडामा गुणस्तरीय सूचना प्रविधिको पहुँच विस्तार गरिनेछ।
साँस्कृतिक पर्यटन र सामाजिक संरक्षण
गुराँस गाउँपालिकाको धार्मिक, सांस्कृतिक र सामाजिक सम्पदा संरक्षण तथा प्रवर्द्धनमार्फत धार्मिक-सांस्कृतिक पर्यटन विकास गर्ने योजना छ। गरिबी अन्त्य र पिछडिएका वर्गको उत्थानका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
विपद् व्यवस्थापन र सार्वजनिक सेवा सुधार
गाउँपालिका आकस्मिक विपद् तथा प्रकोप व्यवस्थापनको पूर्वतयारी गर्ने र राहत तथा पुनर्स्थापना प्रणाली मजबुत बनाउने तयारीमा छ। साथै, सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र जनमुखी बनाउने उदेश्य बजेटले लिएको छ।
उपाध्यक्ष खड्काले भनिन्, “स्थानीय स्रोत साधन र जनताको श्रम तथा सीपको अधिकतम उपयोग गर्दै हाम्रो गाउँपालिकालाई आत्मनिर्भर र समुन्नत बनाउने हाम्रो प्रतिबद्धता हो।”
गुराँस गाउँपालिकाको यो बजेट समावेशी, विकासमुखी र स्थानीय सम्भावनामा आधारित रहेको विश्लेषण गरिएको छ।













प्रतिक्रिया दिनुहोस्