“खालिखुट्टाको विद्रोह: सिंहदरबारले नबुझेको कर्णालीको आँसु” ✍️ हरी प्याकुरेल सी
स्वाभिमान खबर , असार ७
🟥 कर्णाली: गौरवको भूमि, उपेक्षाको वर्तमान

कर्णाली—नेपालकै सभ्यताको थलो, खस भाषाको जन्मस्थली। जुम्ला, सिन्जा, देउडा, झ्याउरे जस्ता सांस्कृतिक गहना बोकेको यो भूगोल आज उपेक्षा र विकासहीनताको प्रतिक बनेको छ।
इतिहासले कर्णालीलाई सम्मान दियो, तर राज्यले उपेक्षा मात्र।
🟥 विद्यालय छन्, शिक्षक छैनन्।

स्वास्थ्य चौकी छन्, औषधि छैन।
सरकारी विद्यालयमा गरिबका छोराछोरी छन्, तर गुणस्तरीय शिक्षा छैन। स्वास्थ्य केन्द्र छन् तर सिटामोल जस्तो सामान्य औषधि पनि छैन।
शिक्षक राजनीतिक झन्डा बोकेर कक्षा पस्छन्, जनप्रतिनिधिका छोराछोरी निजी स्कुलमा पढ्छन्।
शिक्षा नाममा अवसर होइन, विभाजन बाँडिएको छ।
🟥 कृषिमा सम्भावना, तर किसान भोकै

कर्णालीमा बीउ छैन, मल छैन, सिंचाइ छैन। अनुदान नक्कली किसानलाई पुग्छ, असली किसानको अन्न खेर जान्छ।
फलफूल, पशुपालन, जडिबुटीको खानी भएर पनि यहाँका युवाहरू भारतका गल्लीमा डोली बोकेर रोजी–रोटी कमाइरहेका छन्।
🟥 डोजर विकास: बिना योजना, बिना उत्तरदायित्व

दुई–चार घर भएको बस्तीमा पनि सडक खनिन्छ—बिना वातावरणीय अध्ययन। बाढीले बगाएको संरचना फेरि त्यहीँ बन्छ—बजेटको दुरुपयोग फेरि दोहोरिन्छ।
🟥 नवराजको यात्रा: एक व्यक्ति होइन, कर्णालीकै आवाज

३१ दिन खालिखुट्टा पैदल यात्रा गरेर सुर्खेतदेखि सिंहदरबार पुगे नवराज बोहरा।
उनको झोलामा थियो—कर्णालीको सपना, पीडा र भ्रस्टाचारविरुद्धको उजुरी।
तर सिंहदरबारको ढोका खोलिएन। प्रधानमन्त्रीसँग भेट भएन।
केवल भेटिए—एक जोडी गोल्ड स्ट्रार जुत्ता।
🟥 जुत्ता : मलम कि अपमान?

राज्यले उनलाई उपहार दिएर जुत्ता लगायो, घाउमा होइन – आत्मामा।
नवराजले न्याय खोजेका थिए, राज्यले मौनता र अपमान दियो।
उनको खालिखुट्टा आज पनि सिंहदरबारबाहिर उभिएको छ—राज्यप्रतिको गम्भीर प्रश्न बनेर।
यो क्रूरतापूर्ण मौनता कहिलेसम्म?
सिंहदरबार अझै ‘जनताको भवन’ बनेको छैन।
नवराज फर्किए—तर उनीसँगै फर्किएको छ कर्णालीको विद्रोही चेतना।
त्यो चेतना अब रोकिने छैन।
लेखक
केन्द्रीय सदस्य – अखिल (समाजवादी ) विद्यार्थी संगठन तथा बाँके र बर्दिया जिल्ला इन्चार्ज हुन













प्रतिक्रिया दिनुहोस्