२०८३ साउन १५ गते शुक्रवार

दैलेखमा ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस भेटियो : प्रारम्भिक अध्ययनमा ११२ अर्ब घनमिटर ग्यास



दैलेखमा ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस भेटियो : प्रारम्भिक अध्ययनमा ११२ अर्ब घनमिटर ग्यास
कमल कुमार शाही
स्वाभिमान खबर दैलेख, असार ५
दैलेखको जलजले क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक ग्याँसको भण्डार फेला परेको छ । चीनको सरकारी भूगर्भ अध्ययन संस्था ‘चाइना जिओलोजिकल सर्भे’ र ‘सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनी’ले प्रारम्भिक अध्ययनबाट करिब ११२ अर्ब घनमिटर मिथेन ग्याँस रहेको निष्कर्ष निकालेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका अनुसार यो ग्याँसले नेपाललाई ५० वर्षसम्म पुग्ने बताइएको छ । मन्त्री भण्डारीले भने, “हामीले प्रारम्भिक रिपोर्ट पाएका छौं, विस्तृत अध्ययनपछि परीक्षणको रूपमा उत्पादन सुरु गर्ने योजना बनाएका छौं ।”

२०८० सालदेखि ड्रिलिङ सुरु

दैलेखको जलजलेमा २०८० साल वैशाख २८ गतेदेखि करिब ४ हजार मिटर गहिरो खनेर ड्रिलिङ कार्य सुरु गरिएको थियो । उत्खननको क्रममा जमिनमुनिबाट ग्याँसको गन्ध आएको थियो । त्यसपछि चीन लगेका चट्टानका नमूनाहरू परीक्षण गर्दा मिथेन ग्याँसको ठुलो भण्डार रहेको पुष्टि भएको हो ।

स्वच्छ इन्धनको विकल्प

मिथेन ग्याँस पेट्रोल र डिजेलको विकल्पमा प्रयोग गर्न मिल्ने स्वच्छ इन्धन हो । यसबाट गाडी चलाउन, बिजुली उत्पादन गर्न र घरायसी प्रयोजनका लागि बत्ती बाल्न सकिन्छ । खानी तथा भूगर्भ विभागका अनुसार यस ग्याँसबाट हाइड्रोजन छुट्याएर मल उत्पादनमा समेत प्रयोग गर्न सकिन्छ ।

प्रज्ज्वलनशील ग्याँसको रहस्य

दैलेखका केही स्थानहरूमा जमिनबाट आगो बलिरहेको देखिन्छ । स्थानीयले यसलाई दैवी शक्तिको रूपमा पूजा गर्दै आएका थिए । तर वैज्ञानिक अध्ययनले यस्ता घटनाहरू जमिनमुनिको प्रज्ज्वलनशील ग्याँस बाहिर निस्किँदा हुने पुष्टि गरेका छन् ।

भारतको नाकाबन्दीपछि सुरु भएको चासो

२०७२ सालमा भारतले गरेको नाकाबन्दीपछि नेपाल सरकारले वैकल्पिक ऊर्जा स्रोतको खोजीमा चासो देखाएको थियो । त्यसपछि चीनलाई पेट्रोलियम अध्ययनका लागि निम्तो दिइएको थियो । करिब १० वर्षपछि मात्रै ड्रिलिङ सुरु भएको हो ।

विस्तृत रिपोर्टपछि उत्पादन

चिनियाँ टोलीले विस्तृत अध्ययन प्रतिवेदन चिनियाँ क्यालेण्डरअनुसार डिसेम्बरको अन्त्यसम्म दिने जनाएको छ । त्यसपछि ७५ दिनको परीक्षण उत्पादन गरिनेछ । परियोजनाको अनुमानित लागत ६५ अर्ब रुपैयाँ रहेको मन्त्री भण्डारीले जानकारी दिए ।

नेपालमा पेट्रोलियम अन्वेषणका लागि देशभर १० वटा ब्लक छुट्याइएका छन्, तर हालसम्म उत्खनन दैलेखमै मात्र गरिएको छ ।

यो ग्याँसलाई व्यवसायिक रूपमा उत्पादन गरी प्रयोगमा ल्याउन सके नेपालले ऊर्जा क्षेत्रमा आत्मनिर्भरता प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहिवार