२०८३ साउन १६ गते शनिवार

मैले नदेखेको तर मेरो आदर्श : जनपक्षीय पत्रकार कृष्ण सेन इच्छुक



मैले नदेखेको तर मेरो आदर्श : जनपक्षीय पत्रकार कृष्ण सेन इच्छुक

कमल कुमार शाही
स्वाभिमान खबर , जेठ १३

मान्छे कहिले काँही नदेखीकन पनि आदर्श बनिदिन्छन्। मैले कहिल्यै कृष्ण सेन इच्छुकलाई प्रत्यक्ष देख्न पाइनँ। न त उहाँसँग हात मिलाउने वा संवाद गर्ने सौभाग्य मिल्याे। तर पनि, उहाँ मेरो पत्रकारिताको पथप्रदर्शक, आदर्श पात्र र चेतनाकाे स्रोत हुनुहुन्छ।

२०५९ जेठ ६ गते नेपाली पत्रकारितामा कालो दिन बन्यो। यही दिन सत्ताको आलोचना गर्नेलाई बन्दुकको नालले चुप लगाउने प्रयास गरियो। ‘जनपक्षीय पत्रकारिता’का प्रणेता कृष्ण सेन इच्छुकलाई राज्यले हिरासतमा लिएर वेपत्ता बनायो। पछि थाहा भयो—उहाँलाई हत्या गरियो। तर उहाँका विचारहरू मरेनन्।

कृष्ण सेन इच्छुककाे पत्रकारिता साधारण रिपोर्टिङ होइन, परिवर्तनकाे अभियान थियाे। उहाँले “जनआवाज” साप्ताहिकमार्फत दबिएका, कुचिएका, श्रमिक, किसान, महिलाका पीडा लेख्नुभयो। सत्ता र शासकका विरुद्ध कलम चलाउनुभयो।

उहाँका लेखहरूमा साहस देखिन्छ, जहाँ अन्यायको भण्डाफोर हुन्छ। उहाँका कविता र विचारमा जनताको आवाज हुन्छ, जहाँ राज्यकाे संरचनात्मक हिंसाविरुद्ध कलम बग्छ।

उहाँको पत्रकारिता कुनै कार्यालयको टेबलमा बसेर लेखिएको फाइल थिएन, त्यो थियो—भीडभाडका सडक, खेत, कारागार, भूमिगत संगठन र श्रमिकका अनुहारहरूबाट झरेको जनसङ्घर्षको दस्तावेज।

मैले उहाँलाई प्रत्यक्ष नदेखे पनि उहाँका लेख, कविताहरू, र उहाँका सहयोद्धाहरूका स्मृतिहरूले उहाँलाई महसुस गर्न सक्छु। उहाँको आदर्शले मलाई सिकाउँछ–पत्रकारिता सत्ता र सुविधाका लागि होइन, सत्य र परिवर्तनका लागि हुनुपर्छ।

आजको समयमा, जब पत्रकारिता ‘कर्पोरेट धुवाँ’मा हराउँदै छ, जब प्रश्न गर्नेलाई दुश्मन ठानिन्छ, कृष्ण सेन इच्छुक झनै सान्दर्भिक लाग्नुहुन्छ। उहाँ जनताको पक्षमा कलम चलाउने साहसी पात्र मात्र होइन, पत्रकारिता कसरी जनपक्षीय बन्न सक्छ भन्ने जीवित पाठ हुनुहुन्छ।

मैले उहाँलाई देखिनँ, तर उहाँका विचारले मेरो दृष्टि बनायो। उहाँ मेराे प्रेरणा हुनुहुन्छ, किनभने उहाँले देखाउनुभयो–कलम बन्दुकभन्दा बलियो हुन्छ, र विचार मार्न सकिन्न। २४ अौं स्मृति दिवसको अवसरमा कृष्ण सेन ( इच्छुक ) प्रति उच्च श्रद्धा सुमन सहित सम्मान प्रकट गर्न चाहन्छु ।

प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते मङ्गलवार