लगातार बर्ष शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका, ६२ औं सभामा १ अर्ब २७ करोड ९४ लाख बराबरको कारोबार
देपेन्द्र बहादुर शाही
स्वाभिमान खबर , जेठ १
काभ्रे , काभ्रेको महाभारत गाउँपालिकाले यस आर्थिक वर्षमा पनि शून्य बेरुजु कायम राख्न सफल भएको छ। महाभारत गाउँपालिकाको ६२ औं गाउँसभा सम्पन्न गर्दै उक्त उपलब्धिको घोषणा गरिएको हो।
गाउँपालिकाले २०८१/८२काे आर्थिक वर्षको सम्पूर्ण खर्च परीक्षणपछि कुनै बेरुजु नरहेको जानकारी दिँदै आर्थिक पारदर्शिताको राम्रो उदाहरण प्रस्तुत गरेको हो। गाउँपालिकाले यो वर्ष कुल १ अर्ब २७ करोड ९४ लाख बराबरको कारोबार गरेको छ।

गाउँसभा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङको प्रमुख उपस्थितिमा सम्पन्न भयो। सभामा विगत आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा गर्दै आगामी नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।
सभामा अध्यक्ष जिम्बाले भने, “हामीले पारदर्शिता र जवाफदेहिता नै विकासको मुख्य आधार मानेर अघि बढेका छौं। बेरुजु नहुनु हाम्रो संस्थागत अनुशासन र कर्मचारीको इमान्दारीको प्रतिफल हो।”
सभामा प्रमुख प्रशासकीय अधिकृत तामाङले कार्यालयले सबै आर्थिक कारोबार प्रणालीबद्ध तरिकाले रेकर्ड राख्दै आएको र लेखापरीक्षणमा पनि स्पष्टता आएको बताए।
गाउँसभा बैठकमा विभिन्न वडाका अध्यक्षहरू, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, महिला तथा युवा समूहका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति थियो।
महाभारत गाउँपालिका प्रदेशभरको अनुकरणीय स्थानीय निकायका रूपमा स्थापित हुँदै गएको छ।













प्रतिक्रिया दिनुहोस्