२०८३ असार ७ गते आइतवार

गुच्छी च्याउ बचाउन अनुसन्धान गरिनुपर्छ : जुम्लावासीको आवाज



गुच्छी च्याउ बचाउन अनुसन्धान गरिनुपर्छ : जुम्लावासीको आवाज

कमल कुमार शाही
स्वाभिमान खबर , जेठ १०
जुम्ला, महँगो र उपयोगी मानिने गुच्छी च्याउ संरक्षण र कृत्रिम उत्पादनका लागि अनुसन्धान गर्न जुम्लाका किसानले माग गरेका छन्। चन्दननाथ नगरपालिका–२ का रामकृष्ण बुढा थापा र सिंजा गाउँपालिका–६ का लालबहादुर बुढा जस्ता किसानहरूले अब जंगलमा गुच्छी च्याउ पाउनै छाडेको भन्दै सरकारसँग चाँडो अनुसन्धान गर्न आग्रह गरेका हुन्।

रामकृष्णले आफ्नो गाउँ नजिकैको रडिखोल्ला वन क्षेत्रमा वर्षौंदेखि जडिबुटी खेती गर्दै आएका छन्। केही वर्ष पहिले सजिलै भेटिने गुच्छी च्याउ अहिले हराउँदै गएको उनले बताए। “बजारमा माग त छ तर उत्पादन छैन, कृत्रिम तरिकाले उत्पादन गर्न सके सयौं किसानलाई राहत मिल्थ्यो,” उनले भने।

लालबहादुरले झण्डै २ हेक्टर जमिनमा अतिस, अक्कर काँडा लगायत २६ प्रजातिका जडिबुटी खेती गरेका छन्। उनका अनुसार, अतिसका मात्र ४० हजार बोट छन् तर बजारमा गुच्छीको माग पूरा गर्न सकिएको छैन।

जडिबुटी किसानहरूको भनाइमा उनीहरूलाई यार्सा जस्तै गुच्छी च्याउ टिप्न पनि पहुँच छैन। वनमा पाइन छाडेपछि घरमै उत्पादन गर्ने उपाय खोज्नु परेको उनीहरूको तर्क छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूको टोली हालै जुम्ला पुगेर स्थानीय किसानसँग अन्तरक्रिया गरेको थियो। टोलीले गुच्छी च्याउको कृत्रिम उत्पादनका लागि अनुसन्धान सुरु गरिने जानकारी दिएपछि किसानमा उत्साह छाएको छ।

नास्टका वैज्ञानिक जयकान्त राउतका अनुसार नेपालमा पाइने कुल गुच्छी च्याउमध्ये ५९ प्रतिशत कर्णाली क्षेत्रमा पाइन्छ। सुदूरपश्चिममा २८ प्रतिशत र अन्य ठाउँमा १३ प्रतिशत मात्र पाइन्छ। “गुच्छी च्याउ लोपोन्मुख अवस्थामा छ, त्यसको दीगो समाधान कृत्रिम उत्पादन हो,” उनले बताए।

उनका अनुसार विश्व बजारमा गुच्छी च्याउको कारोबार वार्षिक ७५ लाख अमेरिकी डलर बराबरको हुन्छ। तर नेपालमा हाल ५ देखि १० टन मात्र उत्पादन हुने गरेको छ। त्यसको अधिकांश भाग कर्णालीबाटै निर्यात हुन्छ।

वैज्ञानिक लोक रञ्जन भट्टका अनुसार जंगलमा भइरहेको अवैध उत्खननले गुच्छी च्याउ, सेतो चिनी, सतुवा, सुगन्धवाल जस्ता जडिबुटीहरू लोप हुँदै गएका छन्। यसले देशको अर्थतन्त्रमा असर पार्न सक्ने संकेत पनि देखिएको छ।

व्यापारीहरू भने सरकारले जडिबुटीको बजार व्यवस्थापन गर्न नसकेको गुनासो गर्छन्। व्यापारी मिनबहादुर कठायतका अनुसार बजार मूल्य नहुँदा कहिलेकाहीं घाटा खाएर पनि जडिबुटी बेच्नुपरेको छ। “किसान र व्यापारी दुवै मर्कामा परेका छन्,” उनले भने।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत गुच्छी च्याउ प्रयोग गरेपछि यसको माग अन्तर्राष्ट्रिय रूपमा बढेको छ। यस्तो अवस्थामा कर्णालीका किसान र व्यापारीहरूले सरकारसँग अनुसन्धान र बजार व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते शनिवार