२०८२ चैत्र १९ गते बिहिवार

६१औं विद्यार्थी दिवसको अवसरमा बबई बहुमुखी क्याम्पसमा सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न



६१औं विद्यार्थी दिवसको अवसरमा बबई बहुमुखी क्याम्पसमा सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न
विद्यार्थी चेतना र संगठनात्मक सक्रियताको सकारात्मक पहल

देपेन्द्र बहादुर शाही

स्वाभिमान खबर , बर्दिया  जेठ १

६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) जिल्ला समिति बर्दियाले बबई बहुमुखी क्याम्पस गुलरियामा विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा सरसफाइ अभियान सञ्चालन गर्नुका साथै संगठनले पहिला रोपेका फूल र धुपीका बिरुवाको गोडमेल गरिएको छ।

यस कार्यक्रमले शिक्षा क्षेत्रमा विद्यार्थीहरूको सामाजिक उत्तरदायित्व, स्वच्छ वातावरणप्रतिको प्रतिबद्धता र संगठनात्मक अनुशासनलाई पुनः एकपटक उजागर गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि रहेका संगठनका केन्द्रिय सदस्य तथा बाँके-बर्दिया जिल्ला इञ्चार्ज हरि सीले शुभकामना मन्तव्य दिँदै २०२१ साल जेठ १ गते भएको ऐतिहासिक विद्यार्थी आन्दोलनको सन्दर्भ स्मरण गराए। उनले निरंकुश पंचायती शासनकालमा विद्यार्थीहरूको आधारभूत अधिकार खोसिँदा त्यसको विरोधस्वरूप उठेका आवाजहरूकै कारण आजको प्रगतिशील विद्यार्थी आन्दोलनको जग तयार भएको बताए।

उनले भने, “उक्त आन्दोलनले राष्ट्रियताको पक्षमा संघर्ष गर्दै तत्कालीन शासकीय अन्यायविरुद्ध ऐतिहासिक विजय हासिल गरेको थियो। आजको दिन त्यही साहस, त्याग र जागरणको प्रतीक हो।”

कार्यक्रममा संगठनकी केन्द्रिय सदस्य कोपिला सी, जिल्ला उपाध्यक्ष पारश सी, बबई क्याम्पस उपाध्यक्ष मनिसा सी सहित संगठनका दर्जनौँ नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले सरसफाइ कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै संस्थागत वृक्षरोपणको संरक्षण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

विद्यार्थी दिवसको सन्दर्भमा गरिएको यो कार्यक्रमले शिक्षालयलाई वातावरणमैत्री बनाउन सहयोग गर्नुका साथै विद्यार्थीहरूमा सामाजिक जागरूकता र संगठनप्रतिको निष्ठा अभिवृद्धि गराउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते शुक्रवार