२०८३ साउन १५ गते शुक्रवार

तेस्रो दीक्षान्त समारोह सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न



तेस्रो दीक्षान्त समारोह सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न
स्वाभिमान खबर , फागुन २०

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको सुर्खेतको तेस्रो दीक्षान्त समारोह सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न भएको छ । पत्रकार सम्मेलन तेस्रो दीक्षान्त समारोह, संचार तथा प्रचार-प्रसार उपसमितिका संयोजक सह प्रा. डा. लीलाधर तिवारीज्यूको अध्यक्षतामा सम्पन्न भएको हाे ।

कार्यक्रममा  विभिन्न ग्य्राजुएट स्कूलहरु अन्तर्गत विभिन्न तहको शैक्षिकोपाधि हासिल गरेका विद्यार्थीहरुलाई दीक्षित गर्नका लागि मध्यपश्चिम विश्वविद्यालयको ऐतिहासिक तेस्रो दीक्षान्त समारोह मिति २०८१ साल फागुन २३ गते शुक्रबारका दिन विहान ११:०० बजे हुने भएको छ ।  विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानीमा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीज्यूको अध्यक्षता, माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् सहकुलपति विद्या भट्टराईज्यूको समुपस्थिति र सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्रा. डा. महेन्द्र पी. लामाको प्रमुख आतिथ्यतामा सुसम्पन्न हुने जानकारी गराईएको थियो ।

दीक्षान्त समारोहमा विभिन्न तीन वर्षको ब्याजहरुबाट स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जनाले कुलपति पदक, स्नातक तहमा सर्वोत्कृष्ट भएका ३ जनाले उपकुलपति पदक, सबै ग्य्राजुएट स्कुलहरुबाट स्नातकोत्तर तहका लागि डीन लिष्टमा परेका ११ जना र स्नातक तहबाट १८ जना विद्यार्थीहरु गरी जम्मा ३५ जनाले प्रमाणपत्र सहित पदक पाउने जानकारी गराइएको थियो । उक्त दीक्षान्त समारोहमा ग्रेस लिष्टमा रहेका ३८४१ जना विद्यार्थीहरु दीक्षित हुने र जसमध्ये ८८५ जना विद्यार्थीहरुले सहभागिताको लागि आवेदन दिइएको समेत जानकारी गराइएको थियो।

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय स्थित ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेस, डीनको कार्यालयको हल, वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको उक्त कार्यक्रममा ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङका डीन सह प्रा. डा. राजन सुवालज्यू, र उपसमितिका सदस्यहरू उप प्रा. खगेन्द्र प्रसाद अधिकारी, उप प्रा. पन्च देव भट्ट र लक्ष्मीप्रसाद बास्तोलाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन उपसमितिका सदस्य शेर बहादुर के.सी. ले गर्नु भएको थियो ।

­

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार