नेपालका पाँच विश्वविद्यालय बीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता
स्वाभिमान खबर ,माघ २६
कमल कुमार शाही
सुर्खेत । नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेका छन् । सुदुर पश्चिमाञ्चल विश्वविद्यालयमा सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनमा यो सम्झौता भएको हाे । सम्झौतामा यी विश्वविद्यालयले संयुक्तरूपमा हस्ताक्षर गरेका हुन ।
सुदुर पश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय, र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच भएको यो सम्झौताले संयुक्त अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रमहरू मार्फत उच्च शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ ।
सम्झौता अनुसार, विश्वविद्यालयहरू पोस्ट ग्र्याजुएट तहका अनुसन्धान परियोजनाहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको आदानप्रदान कार्यक्रम र संयुक्त शैक्षिक कार्यक्रमहरूको विकासमा सहकार्य गर्नेछन् । साथै, संयुक्तरूपमा सेमिनार, सम्मेलन र अनुसन्धान परियोजनाहरू आयोजना गर्नुका साथै शैक्षिक स्रोत र प्रकाशनहरू आदानप्रदान गर्नेछन् ।
सम्झौता पत्रमा सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तज्यू, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमज्यू, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा. डा. शिलु मानन्धरज्यू, पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु कुमार थपलियाज्यू, र लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद प्रसाद ढकालज्यू गरी पाँचै विश्वविद्यालयका उपकुलपतिज्यूहरूले हस्ताक्षर गरेका छन् ।
साथै पाँचै विश्वविद्यालयका रजिष्ट्रारज्यूहरू सम्झौताको साक्षीका रूपमा उपस्थित रहेका थिए। सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका प्रा. डा. यज्ञराज पाठकज्यू, मध्यपश्चिम विश्वविद्यालयका प्रा. डा. शोभाखर कँडेलज्यू, नेपाल खुला विश्वविद्यालयका प्रा. डा. गोविन्द सिंह बिष्टज्यू, पुर्वाञ्चल विश्वविद्यालयका श्री नीलमणि पोखरेलज्यू, र लुम्बिनी प्राविधिक विश्वविद्यालयका श्री रेग बहादुर भण्डारीज्यू सम्झौता कार्यक्रममा सहभागी रहेका थिए भने उहाँहरूले यस सहकार्यलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
सुरुवाती सम्झौता अवधी पाँच वर्षको रहेको छ भने प्रत्येक पाँच वर्षमा स्वत नवीकरण हुने प्रावधान उल्लेख गरिएको छ । यदि कुनै विश्वविद्यालयले सम्झौताबाट बाहिरिन चाहेमा कम्तीमा छ महिनाअघि सूचना दिनुपर्नेछ । सम्झौता सुदुर पश्चिमाञ्चल विश्वविद्यालयमा सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनमा भएको थियो ।
विश्वविद्यालय पदाधिकारीका अनुसार, यस साझेदारीले नेपालमा शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्नेछ साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्यलाई प्रवर्द्धन गर्नेछ भने विद्यार्थी तथा शिक्षकहरूका लागि सिकाइ र नवीनताको अवसर बढाउने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्