२०८३ साउन १४ गते बिहिवार

मेरो प्रश्न ?- प्रकाश सी



मेरो प्रश्न’?- प्रकाश सी

मेरो प्रश्न
जब असनका गल्लिहरुमा
मालेमावादको खान्कि खाएर,
डकार्दै बरालिएका साणेहरु देख्छु,
मन भारी हुन्छ,
अजङ्गको भिमकाया शरीर,
भित्ता तिर ढेस्दै ,बाटो मेरै जस्तो गरि
बटुवा, पसले, मजदुरहरु लाई दुत्कार्दै
हिडेको कता होला ?
न निश्चित गन्तव्य छ, न उदेश्य नै!
छक्क पर्छु,
तिमी जान खोजेको तिर सिंहदरवार छ।
सिंहदरवार समस्याको समाधान होइन,
किन कि पटक पटक
सिंहदरवार छिरेर जनतातिर नफर्किएका
रायमाझी देखि प्रचण्ड सम्मका
हामी जिउदा साक्षी हौं।
हाम्रोमा सिंहदरवार प्रती भ्रम छ,
कि यो जनताको हो भनेर
तर यसले सधै शासक मात्र जन्माएको छ,
सेवक होइन,
२००७,०१७,०४६ होस या ६२/६३
हामीले हरेक पटक देख्यौं,
जनता ठगिएको,
यदि तिमी साच्चै जनताको बाटो हिड्ने भए
पन्चायतले बनाएको राज मार्गको आश नगर
दुर दराजका,
गल्लिहरु गोरेटा, घोडेटा अनि कुइनेटाहरु छन,
तिनीहरु लाई कसरी जोड्न सकिन्छ
विचार गर!
जहाँ अनगिन्ती जिउदा इतिहासहरु छन,
जनताका अनि सिङ्गो देशका,
ती सपना भेटाउन तिमी
जनताको खुलामञ्च जानू पर्छ,
जहाँ तिमी त्रिचन्द्रको बाटो हुँदै हिड्नु पर्नेछ,
त्रिचन्द्र पुग्दा कलेजको कुनाहरु बाट गङ्गालालहरुको चीत्कार सुनिन्छ, स्वतन्त्रता, समानता र स्वाधीनताको जुन सपना असनको होईन बलिदानको बाटो हिड्दा भेटिन्छ!
बरु हिम्मत हुने हरुले
डोजर लगाउदा हुन्छ वर्ग संघर्षको
कम्तीमा,
पहरो भत्किए पछि देखिने छ,
परको सहिद गेट!
यो त्यही गेट हो तिमी लाई थाहा छ ?
जहाँ गङ्गालाल,धर्म भक्त, शुक्रराज र दशरथ सहित हज्जारौंको अस्थिपन्जर भेटिन्छ,
बेपत्ताहरुको नाम देखिने छ, घाइते योद्धाहरुको आलो रगत लतपतिएको मुक्ति बाटो देखिनेछ,
जहाँ लाखौं जनताको मुक्तीको सपना मिसिएको छ,
हो आज,
हामीलाई तेहि जिउदो सपनाले निदाउन दिदैन,
हामी केही भुईमान्छेहरु ,
त्यही सपना खोजी रहेका छौं,
जनताको सपना खोज्नु हाम्रो दायित्व हो,
सपना खोज्दा विद्रोह गर्नु पर्छ,
हज्जारौं हन्डर ठक्कर खानु पर्छ, हामीलाई थाहा छ!
कयौं पटक बलिदान पनि हुन्छ, हुन सक्छ!
त्यो पनि थाहा छ, तर
तिमीले असनका गल्लीमा डकारे जस्तो
यो सजिलो कुरो पनि होइन,
ख्याल गर साथी
क्रान्ती मजाक हुँदै होईन
कसैको नक्कल गरे जस्तो,
बरु यो त आधी हो, तुफान हो,
सागरमा उठ्ने ज्वारभाटा जस्तै,
सचेत मान्छेहरुले,
बारम्बार परिक्षण गरि रहनु पर्ने
जब तिम्रो पहल गतिवान हुने छ,
क्रान्तिले आफ्नो स्वरुप लिने छ,
अनि पक्कै पनि
जनताको मुक्तिको सपना पुरा हुने छ,
संसारका सबै जंजीरहरु तोडिने छन र,
पुर्वको छितिज बाट उदाउने छ, मुक्तिको न्यानो घाम!
जसलाई हाम्रो वर्गले भन्ने छ वैज्ञानिक समाजवाद!
अथवा हाम्रो आस्थाको साम्यवाद!
के यो असनका गल्लिहरुमा बरालिएर भेटिने कुरा हो?
मेरो प्रश्न!
मालेमावादको खान्की खाएर बुर्जुवा बहस गर्नेहरु लाई ।

लेखक
अखिल (क्रान्तिकारी ) विप्लव – अध्यक्ष प्रकाश सी

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार