२०८३ भाद्र ३० गते मङ्गलवार

शिक्षामन्त्रीकै निजी विद्यालय छ, अनि कसरी निजी विद्यालय विरुद्ध जान सक्छन् ?’



 

 

शिक्षामन्त्रीकै निजी विद्यालय छ, अनि कसरी निजी विद्यालयविरुद्ध जान सक्छन् ?’

भदौ 31 सुर्खेत

शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षामन्त्री अशोकुमार राई नै निजी विद्यालय सञ्चालक भएकाले निजी विद्यालयविरुद्ध जान नसकेको टिप्पणी गरेका छन् ।
‘निजी विद्यालयबाट पैसा नखाने दल पनि कोही छैन, निजी विद्यालय नचलाउने दल पनि कुनै छैन । प्रस्तावित विद्यालय शिक्षा विधेयकले निजी विद्यालयले पाँच वर्षभित्र गुठीमा जान सक्ने भनेको छ । यसको अर्थ जान पनि सकिने छ, नजान पनि सकिनेछ । शिक्षामन्त्रीकै निजी विद्यालय छ अनि स्वार्थ बाझिएका उनी निजी विद्यालयविरुद्ध कसरी जान सक्छन् ? यो शिक्षामन्त्रीको मात्र नभएर सबै दलको दशा हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
शिक्षाविद् कोइरालाले नेपाल शिक्षक महासंघ सरकारविरुद्ध जान नसक्ने औंल्याए । उनले भने, ‘शिक्षक महासंघ भनेको १७ शिक्षक संगठनको छाता हो । उसले पालिकासँगको सहकार्यबारे स्पष्ट गर्नुपर्छ । यसलाई नमान्ने हो भने त संविधान नै संशोधन गर्नुपर्छ ।’ साथै उनले जिल्ला शिक्षा कार्यालयको संरचना आवश्यक नरहेको र एसईई खारेजी जरुरी भएको बताए ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकको शिक्षकलाई राजनीतिमा लगाम लगाउने सोच सकारात्मक भएको पनि उनको टिप्पणी छ । कोइरालाले भने, ‘सरकारमा भएका राजनीतिक दलहरुले आआफ्नो भातृसंगठन बन्द नगर्ने अनि शिक्षकलाई मात्र भन्दाखेरि भने शंका गर्ने ठाउँ छ । शिक्षकलाई मात्र अंकुश लगाउनु सर्पको पुच्छरमा हिर्काउनुजस्तै हो । राजनीतिक दलैपिच्छे भातृसंगठन नखोल्ने हो भने मात्र शिक्षकले मान्छन् ।’ विद्यालय व्यवस्थापन समितिको नेतृत्व वडाध्यक्षका साटो अभिभावकबाट बनाउने कुरा आउनु स्वागतयोग्य भएको उनले बताए ।
सरकारले विद्यालय चलाउने सबै अधिकार स्थानीय सरकारलाई नै दिनुपर्नेमा उनको जोड छ । शिक्षाविद् कोइरालाले विद्यालय सञ्चालनको अधिकार पालिकालाई स्पष्ट नदिनुले आशंका बढेको पनि बताए । विद्यालय सञ्चालनको अधिकार संविधानको अनुसूची ८ सँग जोड्न बल गर्नुपर्ने उनको धारणा छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार