२०८२ चैत्र १९ गते बिहिवार

दुई महिलालाई नाङ्गै घुमायकाे भिडियाे भाईरल



दुई महिलालाई नाङ्गै घुमायकाे भिडियाे भाईरल

भारत

लामो समयदेखि हिंसा भइरहेको भारतको मणिपुर राज्यमा दुई महिलालाई नाङ्गै घुमाइएको भिडिओ अहिले भाइरल भएको छ । यो भिडिओका कारण भारतभर नै तरंग उत्पन्न भएको छ । मणिपुरमा मैतेई र कुकी समुदायबीच झण्डै दुई महिनायता झडप भइरहेको छ ।

राज्यमा हिंसा जारी नै रहँदा बुधबार सार्वजनिक भएको भिडिओले भारतको राजनीतिमा हलचल नै मच्चाएको छ । भिडिओमा कुकी समुदायका दुई महिलालाई हतियार बोकेका २०–२५ जना युवाको समुहले नाङ्गै घुमाइरहेको देखिन्छ ।

नाङ्गै परेड खेलाउने क्रममा युवा समूहले महिलाका गोप्य अंग चलाइरहेको समेत देखिन्छ । दुवै महिला निकै डराएका छन् । उक्त भिडिओ मे ४ तारिखको भएको बताइएको छ । दंगा सुरु भएको दोस्रो दिन नै उक्त कुकर्म भएको थियो । तर, अहिले भिडिओ सार्वजनिक भएको हो ।

भिडिओमा देखिने महिला एक जना २१ र अर्को ४२ वर्षका रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । केही सञ्चारमाध्यमले पीडित महिलासँग गरेको कुराकानीमा आफूहरूलाई कपडा नखोले तत्कालै मार्ने धम्की दिइएको बताएका छन् ।

सँगै नियन्त्रणमा लिएका दुईजना कुकी पुरुषलाई नजिकै खेतमा हत्या गरेपछि महिलालाई कपडा खोल्न लगाएर नाङ्गै घुमाइएको थियो । भिडिओ हेरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो हृदय पीडाले भरिएको बताएका छन् ।

संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री मोदीले यो घटनाले देशकै बेइज्जत गरेको भन्दै दोषीलाई कडा कारबाही गर्ने बताएका छन् । मणिपुरमा हिंसा सुरु भएयता प्रधानमन्त्री मोदीले पहिलोपटक त्यसबारे प्रतिक्रिया दिएका हुन् ।

विपक्षी दलले भने यो घटनालाई लिएर सरकारको आलोचना गरेका छन् । मणिपुर प्रहरीले यो घटनामा अपहरण, सामूहिक बलात्कार र हत्याको मामिलामा अज्ञात समूहविरुद्ध उजुरी दर्ता गरिएको जनाएको छ ।

मणिपुरका मुख्यमन्त्री वीरेन सिंहले दोषिलाई फाँसीको सजाय दिलाउन प्रयास गर्ने बताएका छन् । घटनामा संलग्नमध्ये अहिलेसम्म एकजना पक्राउ परेका छन् । भारतको सर्वोच्च अदालतले पनि यसमा चासो राख्दै स्वतस्जानकारीमा लिएको जनाएको छ । पूरै घटनाबारे २८ जुलाईमा सुनुवाइ हुने तय गरिएको बीबीसीले जनाएको छ

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार