२०८३ बैशाख ३ गते बिहिवार

४० वर्षको शिक्षण यात्रा टुंग्याउँदै शाहीको महान निर्णय , विद्यालयमा अक्षय कोष स्थापना



४० वर्षको शिक्षण यात्रा टुंग्याउँदै शाहीको महान निर्णय, विद्यालयमा अक्षय कोष स्थापना
कमल कुमार शाही
स्वाभिमान खबर, चैत २७
अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ बारामा रहेको श्री मालिका नमुना माध्यमिक विद्यालयका वरिष्ठ शिक्षक तथा पूर्व प्रध्यानाध्यापक (हेडमास्टर) चक्र बहादुर शाहीलाई चैत २६ गते एक औपचारिक कार्यक्रमका बीच सम्मानपूर्वक बिदाइ गरिएको छ। वि.सं. २०४२ सालदेखि निरन्तर शिक्षण पेशामा समर्पित रहँदै आएका शाही २०८२ चैत २५ गते शैक्षिक अवकाशमा गएका हुन्।


लामो समयसम्म विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्व सम्हाल्दै आएका शाहीले आफ्नो कार्यकालभर अनुशासन, गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनको बिदाइ कार्यक्रमले विद्यालय परिवारका लागि भावुक क्षण बनेको थियो, जहाँ शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।
अवकाश ग्रहणसँगै शाहीले विद्यालयप्रति आफ्नो माया र जिम्मेवारीलाई अझ सशक्त बनाउँदै ३,३३,३३३ रुपैयाँको आप्नो बुवा सिरु प्रदिप शाही स्मृति “शैक्षिक अक्षय कोष” स्थापना गरेका छन्।

उक्त कोषबाट आगामी दिनमा आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुग्ने, शैक्षिक गतिविधि प्रवर्द्धन हुने र विद्यालयको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै शाहीले आफ्नो जीवनको महत्वपूर्ण समय शिक्षा क्षेत्रमा बिताउन पाएकोमा सन्तोष व्यक्त गर्दै विद्यालयप्रति आफ्नो सम्बन्ध सधैं जीवित रहने बताए। “अवकाशले जिम्मेवारीबाट टाढा बनाउँदैन, यो त सेवाको नयाँ अध्याय हो,” उनले भावुक हुँदै भने।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद खनाल तथा यस नमुना माविका प्रधानाध्यापक तपेन्द्र बहादुर शाहीले शाहीको योगदानको उच्च प्रशंसा गर्दै उनको यो कदमलाई अनुकरणीय र प्रेरणादायी बताएका छन्। “उहाँले केवल पढाउने काम मात्र गर्नुभएन, विद्यालयको भविष्यका लागि दिगो आधार पनि तयार गर्नुभयो,” प्रध्यानाध्यापक शाहीले भनु भयो।

विद्यार्थीहरू पनि आफ्ना प्रिय गुरुसँग बिछोडिँदा भावुक बनेका थिए। उनीहरूले शाहीबाट सिकेका ज्ञान, अनुशासन र जीवनका मूल्यहरूलाई सदैव आत्मसात् गर्ने प्रतिबद्धता जनाए।
शिक्षा क्षेत्रमा समर्पण र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै शाहीले स्थापना गरेको अक्षय कोषले अबका दिनमा थुप्रै विद्यार्थीको भविष्य उज्यालो बनाउने विश्वास लिइएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार