स्वास्थ्य सूचक मूल्याङ्कनमा पञ्चदेवल विनायकको ऐतिहासिक सफलता, लगातार चौथो पटक प्रथम
कमल कुमार शाही
स्वाभिमान खबर, कार्तिक १७
अछाम । स्वास्थ्य सेवा प्रवाह तथा कार्यक्रम कार्यान्वयनका सूचकहरूको मूल्याङ्कनमा अछामको पञ्चदेवल विनायक नगरपालिका लगातार चौथो पटक प्रथम स्थान हासिल गर्न सफल भएको छ। आर्थिक वर्ष २०८२/०८३ को मूल्याङ्कनमा ७६.४ अङ्क प्राप्त गर्दै पञ्चदेवल विनायक जिल्लाका स्थानीय तहमध्ये पहिलो स्थानमा रहन सफल भएको हो।
स्वास्थ्य कार्यालय अछामको आयोजनामा कात्तिक १५ र १६ गते दुई दिनसम्म सञ्चालन भएको आर्थिक वर्ष २०८२/०८३ को स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा प्रस्तुत तथ्याङ्कअनुसार पञ्चदेवल विनायक नगरपालिका प्रथम भएको हो।
गोष्ठीमा क्षयकुष्ठ निरीक्षक दिपेन्द्र जोशीले प्रस्तुत गरेको तथ्याङ्कका आधारमा जिल्लाका स्थानीय तहहरूको स्वास्थ्य कार्यक्रम कार्यसम्पादन मूल्याङ्कन गरिएको थियो। मूल्याङ्कनमा ७५.४ अङ्क प्राप्त गर्दै मंगलसेन नगरपालिका दोस्रो भएको छ भने ७३.६ अङ्कसहित रामारोशन गाउँपालिका तेस्रो स्थानमा रहेको छ। त्यस्तै, कमलबजार नगरपालिकाको कार्यसम्पादन तुलनात्मक रूपमा कमजोर देखिएको छ।
स्वास्थ्य सूचक मूल्याङ्कनमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको थियो। उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा जिल्लाका पालिकास्तरीय स्वास्थ्य चौकीहरूको समेत मूल्याङ्कन गरिएको थियो। मूल्याङ्कनका आधारमा शान्तडा स्वास्थ्य चौकी, जयगढ स्वास्थ्य चौकी, ढुङ्गाचाला स्वास्थ्य चौकी, रिसिदह स्वास्थ्य चौकी, दुनी स्वास्थ्य चौकी, रानीवन स्वास्थ्य चौकी, वान्नातोली स्वास्थ्य चौकी र बारला स्वास्थ्य चौकीसहित १० वटा स्वास्थ्य चौकीलाई उत्कृष्ट स्वास्थ्य चौकीका रूपमा सम्मान गरिएको थियो।
त्यसैगरी, लामो समयदेखि स्वास्थ्य कार्यालय अछाममा कार्यरत झपडराज ढुङ्गानासहित स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा जिल्लाका सञ्चारमाध्यमहरूलाई पनि सम्मान गरिएको थियो। स्वास्थ्य क्षेत्रमा सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा सकारात्मक योगदान पुर्याएको कदरस्वरूप सञ्चारमाध्यमहरूलाई सम्मान गरिएको हो।
स्वास्थ्य कार्यालय अछामकी प्रमुख सीमा थापाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा आगामी वर्षका लागि स्वास्थ्यकर्मीहरूले तयार पारेको नौबुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिएको थियो। स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, कार्यक्रम कार्यान्वयनमा सुधार ल्याउने तथा जिल्लाको समग्र स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यसहित प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमको सहजीकरण झपडराज ढुङ्गाना र क्षयकुष्ठ निरीक्षक दिपेन्द्र जोशीले गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, केही पालिकाका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थिति रहेको थियो।
गोष्ठीमा जिल्लाको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, उपलब्धिको मूल्याङ्कन, सेवा प्रवाहमा देखिएका चुनौती तथा आगामी वर्षका लागि स्वास्थ्य क्षेत्रको योजना र प्राथमिकताबारे छलफल गरिएको थियो।
भौगोलिक विकटता र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने चुनौतीबीच पञ्चदेवल विनायक नगरपालिकाले लगातार चार पटक प्रथम स्थान हासिल गर्नु अछाम जिल्लाकै लागि महत्वपूर्ण उपलब्धि बनेको छ। यसले स्वास्थ्य क्षेत्रमा निरन्तरता, संस्थागत जिम्मेवारी र प्रभावकारी कार्यक्रम कार्यान्वयनको महत्वलाई उजागर गरेको छ।
स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नागरिकले सहज, गुणस्तरीय र सर्वसुलभ सेवा पाउने वातावरण निर्माण गर्न स्थानीय तह, स्वास्थ्यकर्मी र सरोकारवाला निकायबीच थप समन्वय र सहकार्य आवश्यक देखिन्छ।
७६.४ अङ्कसहित पञ्चदेवल विनायक प्रथम, मंगलसेन दोस्रो र रामारोशन तेस्रो। अछामका उत्कृष्ट स्वास्थ्य चौकी, स्वास्थ्यकर्मी र सञ्चारमाध्यम पनि सम्मानित।














प्रतिक्रिया दिनुहोस्