ओमप्रकाश अर्याल ले अछामका मतदान स्थलको स्थलगत अनुगमन गरे
कमल कुमार शाही
स्वाभिमान खबर, फागुन १८
अछाम । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित गृह मन्त्री ओमप्रकाश अर्याल ले अछामका विभिन्न मतदान स्थलको स्थलगत अनुगमन गरेका छन्।
फागुन १७ गते दिउँसो करिब १२ बजे पञ्चदेवल विनायक आइपुगेका मन्त्री अर्यालले जिल्लाका संवेदनशील तथा दुर्गम क्षेत्रमा रहेका मतदान केन्द्रहरूको निरीक्षण गर्दै सुरक्षा तयारी, कर्मचारी व्यवस्थापन र पूर्वाधार अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका हुन्। उनले मतदान केन्द्रहरूमा खटाइएका कर्मचारीसँग छलफल गर्दै आवश्यक स्रोत–साधन पर्याप्त भए–नभएको विषयमा चासो व्यक्त गरेका थिए।
जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण बनाउन सबै पक्षबीच समन्वय अपरिहार्य रहेको बताए। “निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो, यसलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउनु राज्यको पहिलो दायित्व हो,” उनले भने।
प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढा का अनुसार मन्त्रीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायका प्रमुखहरूसँग संयुक्त बैठक गर्दै सुरक्षा रणनीति र सम्भावित चुनौतीबारे समीक्षा गरेका थिए। बैठकमा मतदान केन्द्रहरूको जोखिम मूल्याङ्कन, आकस्मिक योजना तथा द्रुत प्रतिक्रिया टोलीको तयारीबारे विस्तृत छलफल भएको जनाइएको छ।
मन्त्रीस्तरीय अनुगमनसँगै जिल्लाभर सुरक्षा सतर्कता थप कडा पारिएको प्रशासनले जनाएको छ। संवेदनशील केन्द्रहरूमा अतिरिक्त सुरक्षा जनशक्ति परिचालन गरिनुका साथै नियमित गस्ती र सूचना संकलनलाई तीव्र बनाइएको छ।
स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरूसँग पनि मन्त्रीले संक्षिप्त संवाद गरेका थिए। उनले निर्वाचन आचारसंहिता पालना गर्न र कुनै प्रकारको अवाञ्छित गतिविधिमा संलग्न नहुन सबै पक्षलाई आग्रह गरे।
गृह मन्त्री अर्यालको स्थलगत अनुगमनले अछाममा निर्वाचनको तयारीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। जिल्लावासीले समेत मन्त्रीको भ्रमणले सुरक्षा व्यवस्थामा विश्वास बढ्ने अपेक्षा व्यक्त गरेका छन्।













प्रतिक्रिया दिनुहोस्