२०८३ साउन १२ गते मङ्गलवार

अखिल (समाजवादी) अछामको १८औँ जिल्ला सम्मेलन सम्पन्न भुपेन्द्र रावलको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति निर्वाचित



अखिल (समाजवादी) अछामको १८औँ जिल्ला सम्मेलन सम्पन्न
भुपेन्द्र रावलको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति निर्वाचित

शिक्षा प्रणाली दलाल पूँजीवादको सेवामा सीमित भएको नेताहरूको आरोप
कमल कुमार शाही
स्वाभिमान खबर, पौष ८
अछाम । अखिल (समाजवादी) अछामको १८औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले भुपेन्द्र रावलको अध्यक्षतामा ३१ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ ।

नव निर्वाचित समितिको उपाध्यक्षमा प्रेम धमाला रकौसी साउद चयन भएका छन् भने सचिवको जिम्मेवारी इश्वरी रोकायालाई दिइएको छ । सह–सचिवमा चेतन विक र लुइस भाट चयन हुँदा कोषाध्यक्षमा मनिषा न्यौपाने निर्वाचित भएकी छन् ।

सम्मेलनको प्रमुख अतिथि नेकपा (माओवादी ) का केन्द्रीय सदस्य निरक सी ले विद्यार्थी आन्दोलन राजनीतिक परिवर्तनको आधारशिला भएको उल्लेख गर्दै समाजवादी दिशामा शिक्षा र राजनीतिलाई अघि बढाउनुपर्ने बताए ।
उनले भने, “विद्यार्थी संगठन केवल शैक्षिक मागमा सीमित हुन हुँदैन । देशको समग्र राजनीतिक, सामाजिक र वैचारिक रूपान्तरणसँग जोडिनुपर्छ ।”


त्यस्तै, विशेष अतिथि संगठनका नेता कमल सी ले वर्तमान शिक्षा प्रणाली र राजनीतिक अवस्थाप्रति कडा आलोचना व्यक्त गरे ।
उनले भने, “देशको शिक्षा प्रणाली विदेशी साम्राज्यवादी देशका लागि काम गर्ने जनशक्ति उत्पादन गर्ने मियो मात्रै बनेको छ । यसलाई व्यवहारिक, वैज्ञानिक र जनमुखी बनाउनु आजको आवश्यकता हो।”

कमल सीले अहिले आफूलाई ‘नयाँ’ भन्ने केही समूहहरू पुरानै दलाल सत्ता जोगाउने राजनीतिमा लागेको आरोप लगाए ।
उनले थप भने, “नयाँ भनिएका केही शक्तिहरू मुद्दाविहीन राजनीतिमा रमाइरहेका छन् । उनीहरूको उद्देश्य पुरानो दलाल सत्तालाई जोगाउनु मात्रै हो । अहिलेको आवश्यकता हाम्रो संगठन र पार्टी मुद्दासहितको व्यवस्था परिवर्तनको लडाइँ हो ।”
उनले समाजवादको नाममा दलाल पूँजीवादको भुँण बोकेर हिँड्ने प्रवृत्तिको पनि आलोचना गरे । “दलाल पूँजीवादको भुँण बोकेर समाजवाद जन्माउँछु भन्दै हिँड्नुको कुनै अर्थ छैन,” उनले स्पष्ट पारे ।

सम्मेलनले विद्यार्थी हकहितको रक्षा, शैक्षिक सुधार, समाजवादी विचारधाराको विस्तार र जिल्लामा संगठनलाई सुदृढ बनाउने निर्णयहरू गरेको छ । नव निर्वाचित जिल्ला समितिलाई संगठनका नेता–कार्यकर्ताले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

अखिल (समाजवादी) अछामले आगामी दिनमा जिल्लाभर संगठन विस्तार, वैचारिक प्रशिक्षण र विद्यार्थी केन्द्रित आन्दोलनलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार