मध्यपश्चिम विश्वविद्यालय र फिनल्यान्ड दूतावासबीच सहकार्य विस्तारका लागि द्विपक्षीय भेट, अन्तरराष्ट्रिय सम्मेलनमा सहयोगको प्रतिबद्धता
कमल कुमार शाही
स्वाभिमान खबर,मंसिर १८
सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय र नेपालका लागि फिनल्यान्ड दूतावासको प्रतिनिधि मण्डलबीच आज वीरेन्द्रनगरमा शिष्टाचार भेट तथा द्विपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। विश्वविद्यालयद्वारा २०८३ वैशाख ११–१३ (२४–२६ अप्रिल २०२६) मा आयोजना गर्न लागिएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखी विभिन्न सम्भावित सहकार्यका विषयमा दुवै पक्षबीच गहन संवाद भएको हो।

अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालय, वीरेन्द्रनगरमा बसेको बैठकमा फिनल्यान्ड दूतावासकी शिक्षा परामर्शदाता योहन्ना कुर्की, विशेष शिक्षा सल्लाहकार इन्द्रा गुरुङ, फिनल्यान्ड तथा युरोपेली संघको सहयोगमा सञ्चालित टेक्सेस नेपाल परियोजनाअन्तर्गत समावेशी शिक्षा विज्ञ डा. माया मकिनेन, परियोजनाका कर्णाली प्रदेश संयोजक बखत भण्डारीलगायतको टोली सहभागी थियो।
विश्वविद्यालयतर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवाली, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का, र सूचना अधिकारी तथा प्रशासन प्रमुख शेरबहादुर केसी सहभागी रहनुभएको थियो।
बैठकमा दुवै पक्षले विश्वविद्यालय–फिनल्यान्ड सहकार्यका सम्भावित क्षेत्र, आगामी सम्मेलनमा सहभागिता, भविष्यको शैक्षिक कार्यक्रम, अनुसन्धान अभिवृद्धि तथा प्राविधिक सहयोगबारे विस्तृत छलफल गरे।
कार्यकारी निर्देशकद्वय डा. ज्ञवाली र डा. खड्काले विश्वविद्यालयका अन्तर्राष्ट्रिय कार्यक्रम, सम्भावित परियोजना तथा साझेदारीका अवसरबारे प्रस्ट प्रस्तुति दिएका थिए।
उता, शिक्षा परामर्शदाता कुर्कीले मध्यपश्चिम विश्वविद्यालयले आयोजना गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनप्रति दूतावासको गहिरो चासो र समर्थन रहने बताइन्।
उनले उक्त सम्मेलनका सामग्री र लिंकहरू फिनल्यान्ड दूतावासको आधिकारिक वेबसाइट तथा फेसबुकमार्फत प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता जनाइन्। साथै, सम्मेलनमा फिनल्यान्डबाट भर्चुअल तथा प्रत्यक्ष उपस्थित हुनेगरी विज्ञ तथा सहकार्य टोली पठाइने समेत आश्वासन दिइन्।
दुवै पक्षबीचको छलफलले विश्वविद्यालय र फिनल्यान्ड बीचको शैक्षिक, प्राविधिक तथा अनुसन्धानात्मक साझेदारीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। मध्यपश्चिम विश्वविद्यालयले आगामी अन्तरराष्ट्रिय सम्मेलनलाई प्रदेश तथा देशकै शैक्षिक उचाइ बढाउने महत्वपूर्ण अवसरको रूपमा लिएको छ।













प्रतिक्रिया दिनुहोस्