२०८३ साउन १३ गते बुधवार

कमल सीद्वारा बझाङका विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ‘मौलिक शिक्षा प्रणाली लागू गर्नुपर्ने’ आग्रह



कमल सीद्वारा बझाङका विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ‘मौलिक शिक्षा प्रणाली लागू गर्नुपर्ने’ आग्रह

कमल कुमार शाही
स्वाभिमान खबर, कात्तिक १७
बझाङ । बझाङको दुर्गाथली गाउँपालिका–१ र २ को सिमानामा पर्ने चौधारी माध्यमिक विद्यालयमा असहाय, टुहुरा, विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। शिक्षामा समान पहुँच र अवसर सुनिश्चित गर्ने उद्देश्यले समाजसेवी कमल सी ले उक्त विद्यालयका विद्यार्थीहरूलाई कापी, कलम, मोडेल सेटलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरेका हुन्।

कार्यक्रममा बोल्दै कमल सीले शिक्षालाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “हाम्रो शिक्षा प्रणाली अझै पनि विदेशी अभ्यासमा सीमित छ। अब मौलिक र हाम्रो माटो सुहाउने शिक्षा प्रणाली लागू गर्नैपर्छ, जसले युवाहरूलाई देशमै अवसर देखाओस्।”

उनले हालको शिक्षा प्रणालीले विद्यार्थी र युवामा पलायन प्रवृत्ति बढाएको भन्दै यसमा सुधार गर्न समाजका बुद्धिजीवी, शिक्षक र अभिभावक सबैले गम्भीर बहस आरम्भ गर्नुपर्ने बताउँदै, “शैक्षिक आमूल परिवर्तन बिना राष्ट्रको दीगो विकास सम्भव छैन,” भन्ने धारणा राखे।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय विद्यार्थीहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले समाजका सचेत नागरिकहरूबाट यस प्रकारका सहयोगात्मक कार्यले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह बढाउने विश्वास व्यक्त गरे।

उनले विगतमा पनि धेरै स्कुलमा शैक्षिक साम्रगी वितरण गर्दै आइ रहनु भएको छ ।

स्थानीय अभिभावकहरूका अनुसार, कमल सीको यो पहल ग्रामीण शिक्षामा सह्रानीय योगदान बन्न पुगेको छ। उनीहरूले यस्ता अभियानले बालबालिकालाई आत्मविश्वासी र अध्ययनप्रति प्रेरित बनाउने अपेक्षा गरेका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते सोमवार