२०८३ साउन १६ गते शनिवार

वीरेन्द्रनगरमा १६ करोडको आकाशे पुल निर्माणका लागि टेण्डर आह्वान



वीरेन्द्रनगरमा १६ करोडको आकाशे पुल निर्माणका लागि टेण्डर आह्वान
कमल कुमार शाही
स्वाभिमान खबर ,सुर्खेत, असार २५

वीरेन्द्रनगर नगरपालिकाले स्टिल संरचनाको आधुनिक आकाशे पुल निर्माण गर्न मंगलगढी चोकमा बोलपत्र आह्वान गरेको छ। करिब १६ करोड ५२ लाख रुपैयाँ लागत अनुमान गरिएको यो परियोजनाका लागि नगरपालिकाले सोमबार सूचना प्रकाशित गरी राष्ट्रियस्तरका योग्य निर्माण व्यवसायीहरूलाई टेण्डर दिन आग्रह गरेको हो।

यस पैदल यात्री आकाशे पुलको निर्माणका लागि बोलपत्र जमानत रकम ४ लाख ३० हजार रुपैयाँ तोकिएको छ भने फारम दस्तुर ३ हजार रुपैयाँ तोकिएको छ। इच्छुक ठेकेदारहरूले बोलपत्र साउन २१ गते दिउँसो १२ बजेसम्म पेश गर्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिने जनाइएको छ।

बोलपत्र फारम र आवश्यक जानकारी अनलाइन प्रणाली (www.bolpatra.gov.np/egp) मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। साथै, नगरपालिकाले बोलपत्रदाताहरूलाई आवश्यक सबै कागजात १२० दिनसम्म मान्य हुने गरी पेश गर्न अनुरोध गरेको छ।

नगरपालिकाले नगरको मुख्य चोकमध्येको एकमा यस्तो संरचना निर्माण गर्न लाग्दा शहरको सौन्दर्य र ट्राफिक व्यवस्थापनमा समेत सुधार हुने अपेक्षा गरिएको छ। यो आयोजना वीरेन्द्रनगरको पूर्वाधार विकासतर्फको अर्को महत्वपूर्ण पाइला मानिएको छ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहिवार