२०८३ भाद्र २८ गते आइतवार

सरकारी खाता एक हप्ताका लागि रोक्का, आज रातिदेखि बजेट निकासा बन्द



सरकारी खाता एक हप्ताका लागि रोक्का, आज रातिदेखि बजेट निकासा बन्द

कमल कुमार शाही

स्वाभिमान खबर ,असार २५ काठमाडौं

आज राति १२ बजेदेखि एक हप्ताका लागि सबै सरकारी खाता बन्द गरिने भएको छ। आर्थिक वर्ष २०८१/८२ सकिनै लाग्दा महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूले सञ्चालन गर्दै आएका खाताहरू असार २५ गते रातिबाट अस्थायी रूपमा रोक्का गरिने भएका हुन्।

महालेखा नियन्त्रक कार्यालयकी प्रवक्ता सुशीला अर्यालका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को व्यवस्था अनुसार आर्थिक वर्ष सकिनु सात दिनअघि खाता बन्द गर्नुपर्ने हुन्छ। उक्त नियमावलीको पालना गर्दै चालू आर्थिक वर्षका लागि सिर्जित दायित्वअनुसारको बजेट निकासा आज अन्तिम दिनसम्म मात्र गर्न सकिनेछ।

आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली, एकल खाता कोष प्रणाली तथा कम्प्युटरकृत सरकारी लेखा प्रणालीसमेत एक साता बन्द गरिने जनाइएको छ। यस अवधिमा विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षक बाहेकका कुनै पनि शीर्षकमा भुक्तानी गर्न नपाइने स्पष्ट गरिएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्म चालू आर्थिक वर्षको कुल बजेटमध्ये करिब ७९ प्रतिशत खर्च भइसकेको छ। जसमा चालू शीर्षकको ८४ प्रतिशत, पूँजीगत खर्चतर्फ ५३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८६ प्रतिशत बजेट खर्च भएको विवरण छ।

प्रत्येक आर्थिक वर्षको अन्त्यमा हुने यस प्रकारको खाता बन्द प्रक्रिया सरकारले आगामी वर्षका लागि वित्तीय तयारी गर्न र लेखा प्रणालीलाई व्यवस्थित गर्न अपनाउने नियमित अभ्यास हो। आगामी साता नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि बजेट कार्यान्वयन सुरु भएपछि खाता पुनः सञ्चालनमा आउनेछ।

 

प्रकाशित मिति : २०८२ असार २५ गते बुधवार