सुशासनको उदाहरण : महालेखा कार्यालयबाट सम्मानित पञ्चदेवल विनायक नगरपालिका
कमल कुमार शाही
स्वाभिमान खबर अछाम, असार १६ –
सुदूरपश्चिमको अछामस्थित पञ्चदेवल विनायक नगरपालिकाले आर्थिक सुशासन, पारदर्शिता र उत्कृष्ट सेवा प्रवाहका आधारमा राष्ट्रकै महत्त्वपूर्ण मानिएको सम्मान प्राप्त गरेको छ। महालेखा परीक्षकको कार्यालय, काठमाडौँले ६७ औँ वार्षिकोत्सवको अवसर पारेर पञ्चदेवल विनायक नगरपालिकालाई प्रशंसा पत्र प्रदान गर्ने निर्णय गरेको हो।
महालेखा परीक्षक कार्यालयले सार्वजनिक लेखा प्रणाली, आन्तरिक लेखापरीक्षण, पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई मापदण्ड मानेर संघ, प्रदेश र स्थानीय तहका उत्कृष्ट निकायहरूलाई सम्मानित गर्ने क्रममा पञ्चदेवल विनायक नगरपालिकालाई पनि छनोट गरेको हो।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशभित्र सबैभन्दा कम बेरुजु हुने स्थानीय तहको रूपमा पहिचान बनाएको नगरपालिकाले आर्थिक अनुशासन, लेखा परीक्षणमा पारदर्शिता, सेवा प्रवाहमा दक्षता तथा सूचना व्यवस्थापनजस्ता क्षेत्रमा सशक्त भूमिका निर्वाह गरेको महालेखा कार्यालयले उल्लेख गरेको छ।
नगरपालिकाकी प्रमुख अम्बिका चलाउनेका अनुसार, “जनप्रतिनिधिको जिम्मेवारीपूर्वक सहभागिता, लेखा शाखाको समन्वय र कर्मचारीहरूको निष्कपट सेवा भावना नै यो उपलब्धिको मूल आधार बनेको छ।”
यही उपलब्धिका आधारमा नगरपालिकाका लेखा प्रमुख लोक बहादुर चलाउनेले भविष्यमा अझ प्रभावकारी र उदाहरणीय कार्यसम्पादन गर्न थप ऊर्जा मिलेको प्रतिक्रिया दिएका छन्।
अछामको पञ्चदेवल विनायक नगरपालिका यस सम्मानसँगै सुदूरपश्चिममा सुशासनको नयाँ परिचायक बनेको छ।













प्रतिक्रिया दिनुहोस्