जबजका तीन दशक: प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी एउटै मञ्चमा ।
कमल कुमार शाही
स्वाभिमान खबर, काठमाडौँ, १४ असार।
जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौँमा भएको कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमको उद्घाटन सत्रमा ओली र भण्डारी एउटै मञ्चमा देखिए, जसले पार्टी नेतृत्वको एकता सन्देश दिएको छ। कार्यक्रममा एमालेका शीर्ष नेताहरू, बुद्धिजीवी, अनुसन्धानकर्ता तथा देशभरका कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई तीन दशक पूरा भएको सन्दर्भमा आयोजित गोष्ठीमा जबजको सैद्धान्तिक पक्ष, त्यसको व्यवहारिक कार्यान्वयन र नेपालको लोकतान्त्रिक राजनीतिको विकासमा यसको भूमिका विषयमा विभिन्न वक्ताहरूले विचार राखेका थिए।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो मन्तव्यमा जननेता भण्डारीको दूरदर्शिता र नेपालको राजनीतिक यात्रामा उनको योगदानलाई स्मरण गर्दै जबजलाई सशक्त बनाउँदै लैजान आवश्यक रहेको बताइन्।
प्रधानमन्त्री ओलीले भने, “जबज केवल विचार होइन, यो नेपाली समाज रूपान्तरणको मार्गदर्शक सिद्धान्त हो। हामीले यसलाई व्यवहारमा उतार्दै अगाडि बढ्नुपर्छ।” उनले जबजलाई अझ परिष्कृत गर्दै नयाँ पुस्तामा यसको महत्व स्थापित गर्नुपर्ने धारणा राखे।
जननेता मदन भण्डारी र जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुङ्गा सवारी दुर्घटनामा भएको निधनपछि पनि भण्डारीको विचारहरू एमालेको राजनीतिक यात्रा र रणनीतिमा केन्द्रविन्दु बनेका छन्।
कार्यक्रममार्फत जबजको ऐतिहासिक पृष्ठभूमि, वर्तमान सन्दर्भ र भविष्यको दिशा तय गर्न योगदान पुग्ने अपेक्षा आयोजकको रहेको छ।














प्रतिक्रिया दिनुहोस्