२०८३ साउन १५ गते शुक्रवार

असार १० भित्रै बजेट सार्वजनिक गर्दै कालीकोटका नौवटै पालिका अनुकरणीय बने



असार १० भित्रै बजेट सार्वजनिक गर्दै कालीकोटका नौवटै पालिका अनुकरणीय बने

कमल कुमार शाही
स्वाभिमान खबर १० असार, कालीकोट ।

कालीकोट जिल्लाका नौवटै स्थानीय तहले यो वर्ष असार १० को संवैधानिक समयसीमा भित्रै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। विगतमा समयमै बजेट प्रस्तुत गर्न नसक्ने प्रवृत्तिमा सुधार गर्दै यसपटक तीन नगरपालिका र छ गाउँपालिका सबैले निर्धारित मितिभित्रै आ-आफ्नो बजेट सार्वजनिक गरेका हुन्।

जिल्ला समन्वय समितिका प्रवक्ता अजय बमका अनुसार यस पटकको कार्यशैली अनुकरणीय बनेको छ। उनका अनुसार, “यसअघि विभिन्न कारणले असार १० भित्र सबै पालिकाले बजेट ल्याउन नसक्ने समस्या थियो। तर यस वर्ष सबै पालिकाले समयमै बजेट ल्याएर ‘डेटलाइन मिट’ गरेका छन्।”

जिल्लाभर तीन अर्ब ७५ करोडको बजेट

कालीकोटका नौ पालिकाले कुल तीन अर्ब ७५ करोड ७१ लाख ९१ हजार ३२९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। सबैभन्दा ठूलो बजेट तिलागुफा नगरपालिकाले ल्याएको छ, जसले रु ७० करोड १४ लाख ९ हजार ७१० को बजेट प्रस्तुत गर्दै शिक्षा, जैविक कृषि, सडक विस्तार र विद्यालय गाभ्ने जस्ता कार्यक्रम अघि सारेको छ।

नरहरिनाथ गाउँपालिकाले ‘मिसन रोजगारी’ भन्ने नारासहित रु ५१ करोड ८३ लाख ८० हजार ५०० को बजेट ल्याउँदै मावि तहमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ।

पचाल झरना गाउँपालिकाले रु ४३ करोड ८४ लाख ३९ हजार ३५२, रास्कोट नगरपालिकाले रु ४७ करोड २२ लाख ८२ हजार ५१० को बजेट प्रस्तुत गरेका छन्। रास्कोटले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ।

खाँडाचक्र नगरपालिकाले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै रु ५३ करोड ५५ लाख ५५ हजार ९२० बजेट सार्वजनिक गरेको छ।

सान्नी त्रिवेणी गाउँपालिकाले विपद् व्यवस्थापनलाई मुख्य प्राथमिकता दिँदै रु ४१ करोड ९२ लाख ६२ हजार ४१ को बजेट ल्याएको छ। पलाता गाउँपालिकाले रु ४८ करोड २३ लाख ३२ हजार ८४६, शुभकालिकाले रु ४६ करोड २० लाख ५० हजार ४०० र महाबैले रु ३५ करोड ८७ लाख ४७ हजार ९६६ को बजेट प्रस्तुत गरेका छन्।

राम्रो अभ्यासको शुरुआत

कालीकोट जिल्लाको यो समन्वित प्रयासलाई स्थानीय शासनको मजबुतीतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ। कानुनी समयसीमा भित्र बजेट सार्वजनिक गर्न सफल हुनुले पालिकाहरूको योजना कार्यान्वयन र पारदर्शिता दुबैमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

अब यी बजेटहरू कार्यान्वयनको चरणमा कति प्रभावकारी बन्न सक्छन् भन्नेमा स्थानीय नागरिकको चासो र सरोकार जोडिएको छ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार