खाली खुट्टा ३१ दिन पैदल हिँडेर काठमाडौं आएका नवराज बोहराको प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट
कमल कुमार शाही
स्वाभिमान खबर, काठमाडौं – असार ७।
खाली खुट्टै ३१ दिनसम्मको कठिन यात्रा पार गरेर सुर्खेतबाट काठमाडौं आइपुगेका सामाजिक अभियन्ता नवराज बोहराले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका छन्। सामाजिक उत्तरदायित्व र नागरिक सरोकारका विषयमा जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदै सिंहदरबार यात्रा गरेका बोहराको यो भेट विशेष रुपमा लिइएको छ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटका क्रममा बोहराले आफूले यात्राका क्रममा देखेका विकटता, सामाजिक समस्याहरू र जनताको वास्तविक पीडाका कुरा प्रधानमन्त्रीलाई सुनाएका थिए। बोहराको साहसिक यात्राको सम्मानस्वरूप प्रधानमन्त्री ओलीले उनलाई आभार प्रकट गर्दै, नागरिकको आवाजप्रति सरकार गम्भीर रहने प्रतिवद्धता जनाएका थिए।
नवराज बोहरा सुर्खेतस्थित एक शिक्षण संस्थामा आबद्ध रही समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयासमा सक्रिय अभियन्ता हुन्। सुर्खेतदेखि राजधानी काठमाडौंसम्मको लगभग ६५० किलोमिटर दूरी उनले पैदल पार गरेका हुन् – त्यो पनि बिना जुत्ता, केवल जनचेतनाको आवाज बोकेर।
उनले यात्रामा रोग, भोक, थकान र बाटोका अनेक कठिनाइहरूको सामना गर्दै राजधानी आइपुगेका थिए। उनीसँगै बोकेको झोलामा पत्र थिए – सरकार र व्यवस्थाको ध्यानाकर्षण गराउने सामग्रीहरू, स्थानीय स्तरका समस्या र समाधानका प्रस्ताव।
उनको अभियानले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो। ‘राज्यले सुन्न नसकेका आवाज, अब सडकबाट बोल्नुपर्छ’ भन्ने उनको भनाइले धेरैको मन छोएको छ।
प्रधानमन्त्रीसँगको भेटपछि नवराजले भने, “अब कुरा केवल जुत्ता पाएर रोकिन्न, म जनताका सवाल लिएर फेरि पनि हिँड्न तयार छु।”
यो भेटसँगै सामाजिक परिवर्तनका लागि निस्वार्थ रूपमा लागिपरेका अभियन्ताहरूको योगदानप्रति राज्य जिम्मेवार बन्ने आशा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्