२०८३ साउन १५ गते शुक्रवार

प्रचारप्रसारको अभावमा ओझेलमा ऐतिहासिक पञ्चदेव शिवधाम सप्तदेवल मन्दिर



प्रचारप्रसारको अभावमा ओझेलमा ऐतिहासिक पञ्चदेव शिवधाम सप्तदेवल मन्दिर
कमल कुमार शाही
स्वाभिमान खबर, असार ५बैतडी,
बैतडी , देवलहाट । सुदूरपश्चिमको धार्मिक र ऐतिहासिक दृष्टिले अति महत्वपूर्ण स्थलमध्ये एक पञ्चदेव शिवधाम सप्तदेवल मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। बैतडीको दशरथचन्द नगरपालिका–४ देवलहाटमा अवस्थित यो पुरातात्विक स्थलको संरक्षण र प्रवर्द्धनको आवश्यकता अहिले झनै महसुस हुन थालेको छ।

सुदूरपश्चिमकै प्रमुख मन्दिरमध्ये गनिने सप्तदेवल मन्दिर समुहमा सात वटा देवलहरू छन्, जसमा पाँच पाण्डवले द्वापरयुगमा वनवासका क्रममा एकै रातमा निर्माण गरेको भन्ने जनश्रुति रहिआएको छ। १३औं–१४औं शताब्दीको कलात्मक शैलीमा बनेका यी देवलहरू ढुंगाको भित्तो, फलामे संरचना, र कलात्मक शिखरसहितका अनुपम वास्तुकलाका नमुना मानिन्छन्।

ऐतिहासिक विवरण र जनश्रुतिहरू

यो मन्दिर समुहको निर्माण काल र निर्माता अझै स्पष्ट छैन। तर, जनविश्वास अनुसार पाण्डवहरूले एकै रातमा निर्माण गरेका हुन भन्ने मानिन्छ। छ वटा देवल पूर्ण निर्माण भएको देखिन्छ भने सातौं देवल अधुरो अवस्थामा छ। जनश्रुतिअनुसार उज्यालो भइसकेपछि निर्माण कार्य अधुरै छोडिएको हो।

मन्दिर परिसरमा रहेका ढुंगाका शिलालेख को अक्षर समेत बुझ्न नसकिने गरी जीर्ण छन् भने पुराना घण्टा, तामाका भाँडाकुँडा र अभिलेखहरूले यसको ऐतिहासिकता पुष्टि गर्छन्।

प्रमुख विशेषताहरू

मुख्य देवालयको आकार: लम्बाइ १३ फिट, चौडाइ ८ फिट ४ इन्च, उचाइ ३० फिट

मुल देवालयमा शिवजी, दोस्रोमा जगन्नाथ बाबा, तेस्रोमा गणेशजीको पूजा गरिन्छ

भित्ताहरू कलात्मक ढुंगाले बनेका छन् भने छानो ढुंगाको नै बनेको छ, जुन शिखरमा चत्राकार रूपमा अन्त्य हुन्छ

धार्मिक महत्व

यहाँ दैनिक पूजा गरिनुका साथै संक्रान्ति, पूर्णिमा, शिवरात्रि, नवरात्रजस्ता अवसरहरूमा विशेष पूजा, दर्शन तथा मेलाहरू आयोजना हुन्छन्। विशेषगरी सहस्त्रलिंग मेला, गौरा पर्व र लार्खा नाच यस क्षेत्रमा मनाइन्छ।

संरक्षणको प्रयास

यस धार्मिक तथा ऐतिहासिक धरोहरलाई वि.सं. २०६४ सालमा पुरातत्व विभागमा दर्ता गरिएको हो। पछिल्लो समय मन्दिरको पुनःनिर्माण तथा संरक्षणको काम गरिएको छ। वि.सं. १९९० सालको भूकम्पमा भत्किएको मन्दिर पुनःनिर्माण गरिएको थियो।

सहस्त्रलिंग, शिवकुण्ड, कालभैरव मन्दिर, पिपलको ऐतिहासिक रुख लगायत अन्य महत्वपूर्ण धार्मिक संरचना यस परिसरमै रहेका छन्। सहस्त्रलिंगमा १००८ वटा शिवलिंग कुँदिएका छन्।

पहिचान र मान्यता

२०७९ साल मंसिर ३ गते पञ्चदेवल मन्दिर अङ्कित हुलाक टिकट प्रकाशित गरिएको थियो। २०८१ साल फागुन ५ गतेदेखि सहस्त्रलिंग मेलालाई राष्ट्रिय पंचाङ्गमा समेत समावेश गरिएको छ।

स्थानीय मान्यता र किंवदन्ती

वि.सं. २०२७ सालतिर गंगादत्त भट्ट नामक ब्राह्मणले दियो लिएर भारत पिथौरागढ तर्फ जाँदा राति अनौठो सपना देखेपछि मन्दिरमा आएर दियो फर्काइ दिएको प्रसंग जनमानसमा अझै गुञ्जिरहेकै छ।

अभाव र आवश्यकता

यति ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर अझै प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। सरकारी तथा निजी क्षेत्रको सक्रिय सहभागिताबाट यसको प्रचार, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र अनुसन्धानको खाँचो देखिएको छ।

मूल पुजारीको रूपमा भट्ट परिवार र भण्डारी परिवार रहेका छन्। देवलहाट दशरथचन्द नगरपालिकाको वडा नम्बर ४ मा रहेको यो मन्दिर सदरमुकाम खलंगागढीबाट करिब २ किलोमिटर दक्षिणमा अवस्थित छ।

सप्तदेवल मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्रै नभएर नेपाली वास्तुकला, इतिहास र संस्कृति झल्काउने अद्वितीय सम्पदा हो। यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय, प्रदेश तथा संघीय सरकारको विशेष ध्यान जानु आवश्यक छ। साथै, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न डिजिटल माध्यमबाट प्रचार–प्रसार समेत गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहिवार