बिराटनगरमा फरक ढंगले मनाइयो नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १०औं स्थापना दिवस
देपेन्द्र बहादुर शाही
स्वाभिमान खबर , जेठ ३०
बिराटनगर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १०औं स्थापना दिवस यस वर्ष बिराटनगरमा सामाजिक उत्तरदायित्वको भावनासहित फरक तरिकाले मनाइएको छ।
स्थापनाको एक दशक पूरा भएको अवसरमा पार्टीका केन्द्रिय नेताहरू, मोरङ जिल्लाका अगुवा कार्यकर्ता तथा शुभेच्छुकहरूले बिराटनगरस्थित मानवसेवा आश्रममा रहेका वृद्ध आमाहरू तथा दिदीबहिनीहरूलाई खाना खुवाएर दिनलाई अर्थपूर्ण बनाएका छन्।
कार्यक्रममा सहभागीहरूले पार्टीको उद्देश्य र भावनालाई आत्मसात गर्दै समाजप्रतिको उत्तरदायित्वबोधका साथ सेवा र समर्पणमार्फत स्थापना दिवस मनाउनु सबै राजनीतिक दलको लागि पनि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे।
पार्टीका केन्द्रीय नेताहरूले स्थापना दिवसको अवसरमा आश्रमका बृद्धबृद्धाहरूसँग समय बिताउँदै उनीहरूका अनुभवहरू सुने र मनोबल उच्च बनाउने प्रयास गरे। कार्यक्रमको प्रमुख आकर्षण पार्टी कार्यकर्ताहरूको स्वयंसेवक भूमिका र वृद्ध आश्रमका सदस्यहरूप्रतिको आत्मीयता रहेको थियो।
उक्त अवसरमा केक काट्ने औपचारिकता नगरी सादा तर संवेदनशील सामाजिक सेवामा केन्द्रित कार्यक्रम सम्पन्न गरिएको थियो। पार्टीका तर्फबाट वृद्धबृद्धाहरूलाई आवश्यक सामग्री वितरण गर्नुका साथै आश्रम व्यवस्थापनलाई पनि केही सहयोग सामग्री हस्तान्तरण गरिएको जनाइएको छ।
स्थानीय समाजसेवी, विद्यार्थी, महिला कार्यकर्ता लगायत दर्जनौंको उपस्थिति रहेको कार्यक्रममा “राजनीति केवल सत्ताको लागि होइन, सेवाको लागि हो” भन्ने सन्देश फैलाइएको थियो।
नयाँ शक्ति ले पार्टी स्थापना दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरि मनाएको छ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले यसरी स्थापना दिवसलाई सेवामूलक कार्यद्वारा मनाएर समाज र राजनीतिमा नयाँ संस्कार स्थापनाको दिशा देखाएको सहभागीहरूको धारणा थियो।
नयाँ शक्ति तस्बिरमा














प्रतिक्रिया दिनुहोस्