२०८३ भाद्र ३१ गते बुधवार

दरबार हत्याकाण्डको २४ वर्ष : अझै अनेक प्रश्न बाँकी



दरबार हत्याकाण्डको २४ वर्ष : अझै अनेक प्रश्न बाँकी

कमल कुमार शाही
स्वाभिमान खबर

काठमाडौं, जेठ १९ ।
नारायणहिटी दरबारमा राजपरिवारको सामूहिक हत्या भएको २४ वर्ष पूरा भएको छ । वि.सं. २०५८ सालको जेठ १९ गते भएको त्यो घटनाको स्मृतिमा आज विभिन्न कार्यक्रम गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको छ । तर, २४ वर्ष बित्दा पनि यो घटनाबारे धेरै प्रश्नहरू अझै अनुत्तरित छन् ।

सो दिन दरबारमा पारिवारिक भोजको क्रममा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, राजा वीरेन्द्रका भाइ धीरेन्द्रसहित ९ जनाको ज्यान गएको थियो । गम्भीर घाइते भएका दीपेन्द्रलाई पछि राजा घोषणा गरिए पनि ३ दिनपछि उनको पनि मृत्यु भयो । त्यसपछि ज्ञानेन्द्र शाह राजा बने ।

घटनाको अनुसन्धान गर्न बनेको दुई सदस्यीय समिति — तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाटले — दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको निष्कर्ष निकालेको थियो । तर यो निष्कर्ष आम नेपालीले अझै स्वीकार गरेका छैनन् ।

उच्च सुरक्षा घेराभित्र भएको यति ठूलो घटना कसरी सम्भव भयो ? त्यस दिन दरबारभित्र साँच्चै के भएको थियो ? यस्तो महत्वपूर्ण घटना भएपछि पनि किन गहिरो छानबिन गरिएन ? यस्ता धेरै प्रश्नहरू २४ वर्षपछि पनि नेपाली जनमानसमा यथावत छन् ।

आजको दिनको स्मरणमा जावलाखेलस्थित राजा वीरेन्द्रको सालिकमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले माल्यार्पण गर्दै श्रद्धाञ्जलि सभा आयोजना गरेको छ ।

उदार छवि भएका राजा वीरेन्द्रको वंश समाप्त भएपछि राजसंस्था पनि कमजोर बन्दै गयो । राजा ज्ञानेन्द्रले सत्तामा हस्तक्षेप गरेपछि जनआन्दोलन २०६२/०६३ भयो र २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गर्दै राजतन्त्र अन्त्य गरियो । ज्ञानेन्द्र शाह अन्तिम राजा बने ।

यद्यपि, पछिल्लो समय राजसंस्थाको समर्थनमा पुनः केही आन्दोलनहरू भइरहेका छन् । तर, दरबार हत्याकाण्डको वास्तविकता भने अझै झल्झली रहिरहेको छ । यो घटनाले नेपाली समाजलाई अझै पनि झस्काइरहेको छ र सत्य खोज्ने आकांक्षा बाँकी नै छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते सोमवार