स्थानीय सेवा कर्मचारीको १९ दिने आन्दोलनपछि त्रिपक्षीय सहमति, ऐन संशोधनमार्फत माग सम्बोधन गरिने
कमल कुमार शाही
सुर्खेत, २०८२ जेठ १९ – स्वाभिमान खबर
स्थानीय सेवा कर्मचारी संजालको १९ दिन लामो आन्दोलनपछि अन्ततः कर्णाली प्रदेश सरकार, राष्ट्रियस्तरका ट्रेड युनियनहरू र स्थानीय सेवा कर्मचारी संजालबीच त्रिपक्षीय सहमति भएको छ। आज मिति २०८२ जेठ १९ गते भएको वार्तापछि ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१’ को पहिलो संशोधन विधेयकमार्फत कर्मचारीका मागहरू सम्बोधन गरिने सहमति भएको हो।
कर्णाली प्रदेश सरकारले आन्दोलनको सन्दर्भमा गठित वार्ता तथा सहजीकरण समितिको पहलमा भएको उक्त सहमतिमा प्रदेशमा कार्यरत स्थानीय तहका कर्मचारीहरूको सेवा, सुविधा, पदोन्नति, स्थानान्तरण, तालीम, र अन्य व्यवस्थापन सम्बन्धी विषयहरू संशोधित ऐनमार्फत स्पष्ट गरिने उल्लेख गरिएको छ।
स्थानीय सेवा कर्मचारी संजालले लामो समयदेखि कर्मचारीको वृत्ति विकास, सेवाको स्थायित्व, र संघीयताअनुसारको संरचना र अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै आएको थियो। आन्दोलनको क्रममा कर्मचारीहरूले दैनिक धर्ना, प्रदर्शन, र विरोध कार्यक्रम सञ्चालन गरेका थिए।
सञ्जालले अब प्रदेश सरकारले छिट्टै सहमति कार्यान्वयन गर्ने अपेक्षा व्यक्त गरेको छ। “सरकारले सम्झौताको इमानदार कार्यान्वयन गरी अबका दिनमा कर्मचारीहरू सडकमा आउन बाध्य नहोस्,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
सञ्जालले आफ्नो आन्दोलनमा साथ, सहयोग र सहकार्य गर्ने सबै संघ–संस्था, ट्रेड युनियन, सञ्चारकर्मी तथा सरोकारवालाप्रति हार्दिक आभार प्रकट गरेको छ।



















प्रतिक्रिया दिनुहोस्