गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिन सहज बनाउनुपर्छ : नेता कोइराला
कमल कुमार शाही
स्वाभिमान खबर, जेठ १०
काठमाडौं , नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा पदबाट राजीनामा दिन आग्रह गरेका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यागमन विभागमा भएको भनिएको भ्रष्टाचारको सन्दर्भ उठ्दै गएको अवस्थामा गृहमन्त्रीले जिम्मेवारीबाट अलग भई छानबिन सहज बनाउनुपर्ने बताए।
कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनलाई सहज बनाएको उदाहरण प्रस्तुत गर्दै भने, “राजीनामा दिनु मन्त्री लेखकको नैतिकता बलियो बनाउने कार्य हुनेछ।” उनले सरकारले पारदर्शिता र जवाफदेहिताको अभ्यास गर्नुपर्नेमा जोड दिए।
संवैधानिक निकायहरू सचिवहरूको “रिटायरमेन्ट क्लब” जस्तो बन्न थालेको गुनासो गर्दै कोइरालाले त्यस्ता संस्थाहरूमा काम गर्ने व्यक्तिहरूका लागि कुलिङ पिरियड अनिवार्य गर्नुपर्ने बताए।
नेता कोइरालाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाका विषयमा जनताको मत लिने प्रयत्न हुनुपर्ने धारणा राखे। उनले भने, “लोकतन्त्रलाई मुख्य मूल्य मान्ने दलहरूले जनमतसंग्रहबाट डराउनु हुँदैन। कांग्रेस, एमाले र माओवादी एकजुट भएर जनमतसंग्रह गराउन सक्नुपर्छ।”
कोइरालाले आगामी मंसिर ०८२ मा नेपाली कांग्रेसको महाधिवेशन हुनैपर्ने अडानसमेत दोहोर्याए। उनले पार्टीका कार्यकर्तालाई महाधिवेशनको दबाब सिर्जना गर्न आह्वान गर्दै पार्टीलाई समयमै सुदृढ बनाउनु आवश्यक रहेको बताए।













प्रतिक्रिया दिनुहोस्