२०८३ साउन १५ गते शुक्रवार

गोविन्द बहादुर सिंह WWF नेपाल कंजरभेसन अवार्ड 2025 बाट सम्मानित



गोविन्द बहादुर सिंह WWF नेपाल कंजरभेसन अवार्ड 2025 बाट सम्मानित
कमल कुमार शाही
स्वाभिमान खबर

जाजरकोट, १९ मे – विश्व वन्यजन्तु कोष (WWF) नेपालद्वारा प्रत्येक वर्ष प्रदान गरिने “कंजरभेसन अवार्ड 2025” यस वर्ष कर्णाली प्रदेश जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका–५ निवासी गोविन्द बहादुर सिंहलाई प्रदान गरिएको छ।

विगत लामो समयदेखि नेपालका जैविक विविधता संरक्षणमा समर्पित सिंह हाल भेटेरिनरी अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ बारेकोट गाउँपालिकाका भूतपूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत हुनुहुन्थ्यो। उहाँले विशेष गरी संकटापन्न गिद्ध संरक्षणका लागि निरन्तर क्रियाशीलता देखाउँदै आइरहनु भएको छ। सिंहले स्थानीयस्तरमा जनचेतना फैलाउने, गिद्ध र अन्य वन्यजन्तुको उद्धार तथा संरक्षणको काममा ठूलो योगदान दिनु भएको WWF नेपालले जनाएको छ।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा डा. घना एस. गुरुङ, WWF नेपालका देशीय प्रतिनिधिले सिंहलाई अवार्ड प्रदान गर्दै उहाँको योगदानको प्रशंसा गरे। डा. गुरुङले भने, “गोविन्द बहादुर सिंहजस्ता समर्पित व्यक्तित्वहरूले नै नेपालको प्रकृति संरक्षणको भविष्य उज्यालो बनाउने छन्।”

सिंहले सम्मान ग्रहण गर्दै भने, “यो सम्मान व्यक्तिगत मात्र होइन, मेरो गाउँ, समुदाय र सबै जैविक विविधता प्रेमीहरूको लागि हो। म अझ बढी प्रेरित भएर संरक्षणको अभियानलाई अघि बढाउनेछु।”

सिंहको योगदानलाई सम्मान गर्दै गाउँपालिका, स्थानीय विद्यालयहरू र संरक्षणमा संलग्न संघसंस्थाहरूले समेत बधाई ज्ञापन गरेका छन्। संरक्षणको क्षेत्रमा उहाँको यो सम्मानले कर्णाली क्षेत्रका अन्य युवाहरूलाई पनि प्रेरणा दिने विश्वास लिइएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते सोमवार