२०८३ साउन १२ गते मङ्गलवार

काइनेट्रिक ढुंगाको व्यवस्थापन र बजारीकरणको माग गर्दै : प्रचण्डलाई ज्ञापनपत्र



काइनेट्रिक ढुंगाको व्यवस्थापन र बजारीकरणको माग गर्दै : प्रचण्डलाई ज्ञापनपत्र

कमल कुमार शाही
स्वाभिमान खबर, जेठ ४

अछाम — पञ्चदेवल विनायक नगरपालिका–८, बारला कोसेडीमा पाइने बहुमूल्य काइनेट्रिक ढुंगाको व्यवस्थित उत्खनन र बजारीकरणको माग गर्दै नगर प्रमुख (मेयर) अम्बिका चलाउनेले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएकी छन्।

पूर्व प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रद्वारा सञ्चालित मध्य पहाडी राजमार्ग जागरण अभियानको अवसरमा विनायक नगरपालिका आएको बेला नगरपालिकातर्फबाट स्वागत गर्दै उक्त माग समेटिएको १३ बुँदे ज्ञापनपत्र बुझाइएको हो।

ज्ञापनपत्रमा काइनेट्रिक ढुंगाको वैज्ञानिक उत्खनन, संरक्षण र बजारीकरणसँगै नगर क्षेत्रको भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा योगशाला निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन माग गरिएको छ।

त्यसैगरी, चिल्लाताडामा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि पनि बजेट माग गरिएको छ। केही समयअघि सोही स्थानमा भारी बोकिरहेका खच्चड झोलुङ्गे पुलबाट खस्दा घाइते भएका थिए। सो विषयले त्यतिबेला सामाजिक सञ्जाल र मिडियामा व्यापक चर्चा पाएको थियो।

नगरपालिका बाट  दिएको मागपत्र प्रचण्डले बुझँदै यस बिषयमा आफू सरकारमा नभएको हुनाले प्रमुख प्रतिपक्षकाे हैसियतले सम्बन्धित मन्त्रालयलाई भने आस्वासन दिनुभयो ।

स्थानीय तहका प्रतिनिधिहरूले बारलाकोसेडी क्षेत्रमा पाइने काइनेट्रिक ढुंगा अवैध रूपमा (चौरी पैठारी) उत्खनन भइरहेको भन्दै त्यसलाई तत्काल रोक्न, कानुनी प्रक्रिया अनुरूप वैज्ञानिक व्यवस्थापन गर्न र त्यसको मूल्य उपयोग गर्ने नीति बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, काइनेट्रिक ढुंगा नीतिगत रूपमा उत्खनन गरी बजारसम्म पुर्‍याउने प्रणाली बनाइएमा यसबाट रोजगारी, आम्दानी र स्थानीय विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा नगर प्रतिनिधि, सरोकारवाला निकायका पदाधिकारी, स्थानीय बासिन्दा तथा पार्टीका शीर्ष तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यसैबीच जागरण अभियान हाल दैलेख बजारमा पुगेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार