२०८३ भाद्र २९ गते सोमवार

१४ महिनामा एसपी रूपेश खड्काको सक्रियता : अपराध नियन्त्रणदेखि जनमैत्री प्रहरी सेवा सम्म



१४ महिनामा एसपी रूपेश खड्काको सक्रियता : अपराध नियन्त्रणदेखि जनमैत्री प्रहरी सेवा सम्म

कमल कुमार शाही
स्वाभिमान खबर , बैशाख ३१

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रूपेश खड्का १४ महिनाको कार्यकाल सकेर सरुवा भएका छन्। २०७९ फागुन ९ मा सुर्खेतमा कार्यभार सम्हालेका खड्काले कार्यकाल सकिएसँगै आफ्नो उपलब्धिहरू सार्वजनिक गरेका छन्।

एसपी खड्काले सुर्खेतमा शान्ति सुरक्षा कायम गर्नुका साथै जनताको भरोसा जित्न सफल भएका छन्। अपराध नियन्त्रण, मुद्दा अनुसन्धान, हराएका व्यक्तिको खोजी, र प्रहरी सेवा सुधारमा उनले देखाएको सक्रियता उल्लेखनीय छ।

खड्काको नेतृत्वमा फरार सूचीमा रहेका २९२ जना प्रतिवादी पक्राउ परेर अदालतको जिम्मा लगाइयो। पुराना १४ वटा जघन्य मुद्दा फर्छ्यौट भए भने हराइरहेका ९७८ जनामध्ये ९५९ जनालाई आफन्तसँग पुनर्मिलन गराइयो।

प्रहरी कार्यालयमा दर्ता भएका ३ हजार ९०३ उजुरीमध्ये सबै उजुरीको समाधान गरिएको छ। यसले जनतामा प्रहरीप्रतिको विश्वास बढाएको छ।

साथै, प्रहरी कर्मचारीको मनोबल बढाउने काममा पनि एसपी खड्काले विशेष ध्यान दिए। नियमित स्वास्थ्य परीक्षण, सामूहिक भोजन, मनोरञ्जन कार्यक्रम, आन्तरिक सरुवा, र श्रीमान-श्रीमती प्रहरीलाई नजिकै खटाउने व्यवस्था उनले मिलाए।

घटनाको तत्काल समाधानका लागि गाउँ–गाउँमा ४१ वटा लोकल रेस्पोन्स पोस्ट (LRP) स्थापना गरिएको छ भने, बबई नाकामा ३ वटा नम्बर प्लेट चिन्ने क्यामेरा (ANPR) राखिएको छ। बजार क्षेत्रमा सीसीटिभी जडानको प्रक्रिया सुरु भएको छ।

उनको कार्यकालमा अपराध न्यूनीकरण र सेवा प्रवाहमा देखिएको सुधारका लागि प्रहरी प्रधान कार्यालय र प्रदेश कार्यालयबाट ६ पटकसम्म पुरस्कृत समेत भएका छन्।

हाल उनी काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा भएका छन्।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार