सुर्खेतमा जेब्राक्रसिङमै च्यापिन् ४० बर्षिय तुलसी जैसी
कमल कुमार शाही
स्वाभिमान खबर, बैशाख २६
वीरेन्द्रनगर (सुर्खेत) सुर्खेतको वीरेन्द्रनगरस्थित मुलपानी चोकमा सडक पार गर्दै गरेकी एक महिला ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी छिन्। पैदलयात्रीका लागि सुरक्षित मानिने जेब्राक्रसिङमै यस्तो घटना हुँदा सडक सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।
दैलेखको भैरबी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर बसोबास गर्दै आएकी ४० वर्षीया तुलसी जैशी बुधबार दिउँसो मुलपानी चोकस्थित जेब्राक्रसिङबाट बाटो काट्ने क्रममा ट्रकको ठक्करबाट च्यापिएकी हुन्। ट्रकको तीव्र गतिका कारण जैशी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिएको प्रदेश अस्पतालले नेपालगन्ज रिफर गरेको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था चिन्ताजनक रहेको छ।
सुरक्षा संकेत र सडक अनुशासन पालना नगर्ने प्रवृत्तिले सुर्खेतका सडक दिन प्रतिदिन जोखिमपूर्ण बन्दै गएको स्थानीयहरू बताउँछन्। “जेब्राक्रसिङमै हिँड्नेहरू असुरक्षित छन् भने अन्य ठाउँको अवस्था कस्तो होला?” स्थानीय प्रकाश राेकाया भन्छन्।
यता ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ट्रफीक प्रहरी कार्यालय का अनुसार “घटना दुःखद छ। सडकमा ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कडाइ गरिनेछ।”
सडक पार गर्ने समय पैदलयात्रीको प्राथमिकता सुनिश्चित गर्न वर्षौंदेखि उठ्दै आएको आवाज अझै कार्यान्वयनमा नआउनु सडक दुर्घटनाको प्रमुख कारण हो भन्ने स्थानीयको धारणा छ।
विशेषज्ञहरू पनि जनसङ्ख्या बढेसँगै सहरमा ट्राफिक जाम, सवारी चाप र सडक अनुशासनको अभावले दुर्घटनाको जोखिम बढेको बताउँछन्। उनीहरूको सुझाव छ— सवारी चालकमा सजगता, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र पैदलयात्रीमैत्री संरचनाको विकास आवश्यक छ।













प्रतिक्रिया दिनुहोस्