२०८३ साउन १४ गते बिहिवार

गोरखापत्रबाट सुरु भयो ‘न्युज रुम’को रचनात्मक पत्रकारिता अभियान



गोरखापत्रबाट सुरु भयो ‘न्युज रुम’को रचनात्मक पत्रकारिता अभियान

कमल कुमार शाही, स्वाभिमान खबर
काठमाडौं, वैशाख २४ ।

प्रेस काउन्सिल नेपालले गोरखापत्र संस्थानको सहयोगमा ‘न्युज रुम’बाट रचनात्मक पत्रकारिताको अभियान थालेको छ। काउन्सिलको अघिल्लो साउनमा बसेको बोर्ड बैठकको निर्णयअनुसार बुधबारदेखि अभियानको औपचारिक सुरुवात गरेको हो।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतका अनुसार सञ्चारमाध्यमले नकारात्मकता हटाएर आशाको सन्देश प्रवाह गर्नुपर्ने बेला आएको छ। उनका अनुसार, “अब केही हुँदैन भन्ने निराशावादी सोच हटाएर सम्भावना र समाधानको सन्देश दिन पत्रकारिता अग्रसर हुनुपर्छ।”

गोरखापत्रलाई नेपालको पत्रकारिता क्षेत्रको मानक संस्थाका रूपमा उल्लेख गर्दै बस्नेतले ‘न्युज रुम’मा सुरु गरिएको रचनात्मक पत्रकारिताको अभियानले मुलुकभर बहस र अभ्यासको लहर ल्याउने विश्वास व्यक्त गरे। “कुनै बेला पत्रिका भनेकै गोरखापत्र भनेर जनमानसले बुझ्थे,” उनले भने, “यही विश्वासलाई आधार मानेर दक्षिण एसियाकै पुरानो सञ्चार संस्थाबाट अभियानको थालनी गरिएको हो।”

उनका अनुसार, सन् १९६० को दशकदेखि विश्वभर रचनात्मक पत्रकारिताको अवधारणा परिचालित भए पनि नेपालमा यसको प्रयोग फाट्टफुट्ट मात्र भएको पाइएको छ। प्रेस काउन्सिल अब देशभरका न्युज रुममा पुगेर त्यहाँको पत्रकारिता अभ्यास अवलोकन गर्ने र त्यसमा रचनात्मकता थप्न सम्पादक, व्यवस्थापन र राज्यको भूमिकालाई केन्द्रमा राखेर बहस अघि बढाउने रणनीतिमा छ।

गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले पनि वर्तमान पत्रकारिता अब समस्या मात्र देखाउने नभई समाधानको खोजीमा अग्रसर हुनुपर्ने बताए। “रचनात्मक पत्रकारिता होस् वा विकास पत्रकारिता, नाम जे भए पनि मूल मर्म भनेको समस्या उठाउनुका साथै समाधान देखाउने हो,” उनले स्पष्ट पारे।

रचनात्मक पत्रकारिता अभियानले नेपाली सञ्चार माध्यममा सकारात्मक सोच, समाधानमुखी संवाद र समाजमा आशाको सञ्चार गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार