शिक्षक आन्दोलन अन्त्य, सरकारसँग ९ बुँदे सहमति: शिक्षकले भने– अब आशा पलाएको छ
देपेन्द्र बहादुर शाही
स्वाभिमान खबर , बैशाख १७

काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० काे विराेधमा देशव्यापी रूपमा चलेकाे शिक्षक आन्दोलन सरकारसँग ९ बुँदे सहमति भएपछि अन्त्य भएको छ।
नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकमाथि अन्याय भएको भन्दै आन्दोलनरत शिक्षकहरू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच शनिबार राति वार्ता सम्पन्न भएको हो। सहमतिपत्रमा स्थायीत्व, सेवा सुविधा, पदपूर्ति, सरुवा प्रक्रिया, उपचार व्यवस्था लगायतका विषयमा विस्तृत प्रतिबद्धता जनाइएको छ।
स्थानीय शिक्षकको आवाज
काठमाडौंको टोखास्थित जनज्योति माविका शिक्षक रमेश बास्कोटाले सहमतिपछि केही आशा पलाएको बताएका छन्। “सरकारले अब देखेर होइन, सुनेर पनि काम गर्छ कि भन्ने लागेको छ,” उनले भने, “वर्षौंदेखि अस्थायी सेवामा रहेर पाखुरा सुर्किएका शिक्षकहरूका लागि यो ढोका खुलाउने संकेत हो।”
सहमतिको मुख्य बुँदाहरू यस्तो छन्:
१. शिक्षकको स्वास्थ्य उपचारको व्यवस्था सुनिश्चित गरिने।
२. दुर्गम क्षेत्रबाट सरुवा हुने शिक्षकलाई प्राथमिकता दिइने।
३. अस्थायी, राहत, करारलगायत शिक्षकलाई एउटै सेवा सुविधाको पहुँचमा ल्याइने।
४. बालविकास सहयोगी र विद्यालय कर्मचारीलाई क्रमशः स्थायीत्वमा लैजाने प्रक्रिया अघि बढाइने।
५. २०८१ सालदेखि दरबन्दी मिलाएर प्राथमिकदेखि माध्यमिक तहसम्म स्थायी शिक्षक पदपूर्ति गरिने।
६. शिक्षक नियुक्तिका लागि आयोग वा समिति पुनर्संरचना गरिने।
७. आन्दोलनका क्रममा घाइते शिक्षकहरूको निःशुल्क उपचार गरिने।
८. शिक्षकको पेशागत सुरक्षा सुनिश्चित गरिने।
९. तलब ग्रेड र बढुवाको प्रक्रिया समान बनाइने।
पृष्ठभूमि
शिक्षा विधेयक २०८० ले राहत शिक्षक, करार शिक्षक र बालविकासकर्मीको भविष्यमाथि अन्योल खडा गरेको भन्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका थिए। गत चैत २० गतेदेखि सुरु भएको आन्दोलनका कारण देशभर सयौं विद्यालय प्रभावित भएका थिए। केही ठाउँमा प्रहरी हस्तक्षेप र गिरफ्तारसमेत भएका थिए।
लामो समय काे शिक्षक आन्दोलन पटकपटकको वार्ता रर छलफल बाट आज सहमति भएको छ । सरकार र शिक्षकबीचको सहमतिपछि अब विद्यालयहरू नियमित सञ्चालनमा फर्किने भएका छन्। विद्यार्थी, अभिभावक र शिक्षक सबैले सहज शैक्षिक वातावरणको अपेक्षा गरेका छन्।













प्रतिक्रिया दिनुहोस्