२०८३ साउन १४ गते बिहिवार

शिक्षक आन्दोलनले कक्षा १२ को परीक्षा प्रभावित हुने सम्भावना: तयारीमा चुनौती



शिक्षक आन्दोलनले कक्षा १२ को परीक्षा प्रभावित हुने सम्भावना: तयारीमा चुनौती
कमल कुमार शाही
स्वाभिमान खबर , बैशाख ९

काठमाडौं, कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सञ्चालन हुने तयारी भइरहेको बेला देशभर फैलिएको शिक्षक आन्दोलनले परीक्षा प्रभावित हुन सक्ने चिन्ता बढेको छ। शिक्षकहरू हाल स्थानीय तहमा शिक्षक व्यवस्थापन तथा पेशागत सुरक्षासम्बन्धी माग राख्दै आन्दोलनरत छन्, जसले विद्यालयको शैक्षिक तथा प्रशासनिक काममा असर पारेको छ।

शिक्षक महासंघले सरकारसँग पटक–पटक वार्ता गरे पनि मागहरू सम्बोधन नभएको भन्दै आन्दोलित शिक्षकहरूले आन्तरिक मूल्याङ्कन, प्रश्नपत्र व्यवस्थापन, केन्द्र व्यवस्थापन लगायतका काममा सहभागी नहुने चेतावनी दिएका छन्। यसले गर्दा राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले सञ्चालन गर्न लागिएको कक्षा १२ को परीक्षा समयमै र व्यवस्थितरूपमा हुनेमा अन्योल देखिएको छ।

परीक्षा केन्द्र व्यवस्थापनमै समस्या

शिक्षकहरूको सक्रिय सहकार्य विना परीक्षा केन्द्र व्यवस्थापन, पर्यवेक्षक खटाउने, उत्तरपुस्तिका व्यवस्थापनजस्ता कार्य प्रभावित हुने निश्चितप्रायः छ। धेरै जिल्लाका केन्द्रहरूमा शिक्षकहरूले सहयोग नगर्ने बताएका छन्। “हामी आन्दोलनरत छौं, माग पुरा नभएसम्म परीक्षा व्यवस्थापनमा सहभागी हुन सक्दैनौं,” एक आन्दोलनरत शिक्षकको भनाइ छ।

विद्यार्थीहरू चिन्तित

कक्षा १२ का परीक्षार्थीहरू यतिबेला तयारीको अन्तिम चरणमा छन्। तर आन्दोलनका खबरले उनीहरूमा मानसिक दबाब थपिएको छ। “पढाइ त गरिरहेका छौं, तर परीक्षा स्थगन हुने हो कि भन्ने डर छ,” सुर्खेत वीरेन्द्रनगरका एक सामुदायिक विद्यालयका विद्यार्थीले स्वाभिमान खबरसँग भने।

राष्ट्रिय परीक्षा बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा निर्धारित तालिकाअनुसार नै सञ्चालन हुने जनाएको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले स्वाभिमान खबरसँग भने, “परीक्षा सञ्चालनका लागि वैकल्पिक तयारी पनि गरिरहेका छौं। शिक्षक आन्दोलनको अवस्था हेरेर आवश्यक निर्णय लिनेछौं।”

सरकार र शिक्षकबीच वार्ता आवश्यक

शिक्षकहरूको आन्दोलन शान्तिपूर्ण भए पनि यसले विद्यार्थीको भविष्यमा प्रत्यक्ष असर पार्न सक्ने अवस्था छ। त्यसैले सरकार र आन्दोलनरत शिक्षकबीच तत्काल संवाद गरी समाधान खोज्न विज्ञहरू सुझाव दिन्छन्।

यदि आन्दोलन चाँडै अन्त्य भएन भने परीक्षा तालिका प्रभावित हुन सक्ने देखिन्छ। त्यसैले अबको केही दिन कक्षा १२ का लाखौं विद्यार्थीका लागि निर्णायक बन्नेछन्।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार