२०८३ साउन १४ गते बिहिवार

शिक्षामन्त्री बिध्या भट्टराईको राजीनामाले शिक्षक आन्दोलनमा नयाँ मोड



शिक्षामन्त्री बिध्या भट्टराईको राजीनामाले शिक्षक आन्दोलनमा नयाँ मोड
कमल कुमार शाही
स्वाभिमान खबर , बैशाख ८

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बिध्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि लामो समयदेखि जारी शिक्षक आन्दोलनमा नयाँ बहसको थालनी भएको छ। मन्त्रालयको कार्यशैली र शिक्षकका मागप्रति चासो नदेखाएको आरोपसँगै तीव्र विरोध खेपिरहेकी भट्टराईको राजीनामा शिक्षक समुदायका लागि ‘दबाबको सफल परिणाम’का रूपमा देखिएको छ।

शिक्षकको सरुवा, पदपूर्ति प्रक्रिया, अनिवार्य समायोजन, तथा शिक्षक सेवा आयोगका परीक्षा सम्बन्धी विवादास्पद निर्णयहरूको विरोध गर्दै मुलुकभर शिक्षकहरू आन्दोलनरत छन्। आन्दोलनमा सक्रिय शिक्षक नेतृ कल्पना दाहालका अनुसार मन्त्री भट्टराईको राजीनामा आन्दोलनको ‘मनौवैज्ञानिक जित’ हो। “सरकारले आन्दोलनलाई गम्भीरतापूर्वक लिन थालेको संकेत हो,” उनले स्वाभिमान खबरसँग भनिन्, “तर हाम्रो मुख्य माग नीतिगत परिवर्तन हो, व्यक्ति परिवर्तन मात्र होइन।”

शिक्षक संघर्ष समितिका संयोजकहरूले राजीनामालाई सकारात्मक संकेत भनेपनि उनीहरूले सरकारसँग तत्काल संवादको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

“मन्त्री परिवर्तन भए पनि माग पुरा भएनन् भने आन्दोलन फिर्ता हुँदैन,” संघर्ष समितिका एक नेताले भने, “हामी स्पष्ट छौं, स्थायी समाधान चाहिन्छ।”

शिक्षाविद्हरूको मूल्यांकनमा पनि राजीनामा कुनै निष्कर्ष होइन, बरु यो एउटा अवसर हो – सरकार र आन्दोलनबीचको संवाद पुनः सुरु गर्न। शिक्षाविद् डा. प्रेम पौडेल भन्छन्, “राजीनामाले जनताका मागप्रति सरकार संवेदनशील हुन थालेको सन्देश दिन्छ। अबको नियुक्ति र नीति कार्यान्वयनले आन्दोलनको भविष्य निर्धारण गर्नेछ।”

यसैबीच प्रधानमन्त्री कार्यालयले नयाँ शिक्षामन्त्रीको नाम चाँडै सार्वजनिक गर्ने तयारी गरिरहेको स्रोतहरू बताउँछन्। तर जबसम्म शिक्षकका प्रमुख मागहरू सम्बोधन हुँदैनन्, आन्दोलन अन्त्य हुने सम्भावना नदेखिएको शिक्षक संगठनहरूको भनाइ छ।

मन्त्री बिध्या भट्टराईको राजीनामाले आन्दोलनरत शिक्षक समुदायमा आशा जागेको छ। अब सरकारको भूमिकाले आन्दोलनलाई समाधानतर्फ लैजान्छ कि अझै चर्काउँछ भन्ने हेर्न बाँकी छ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार