२०८३ साउन १४ गते बिहिवार

नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका खारेज, यस्ता छन् मन्त्रिपरिषद्का १३ निर्णय



नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका खारेज, यस्ता छन् मन्त्रिपरिषद्का १३ निर्णय
स्वाभिमान खबर ,चैत २६

काठमाडौं । सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७८ लाई खारेज गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार उक्त निर्णय भएको जानकारी दिएका हुन् ।

सबै सरकारी सेवा एउटै प्लेटफर्ममा दिनेगरी ‘सुपर एप’को अवधारणामा आएको नागरिक एप सञ्चालनसम्बन्धी व्यवस्था ऐनमा समावेश गरेको केही समयपछि सरकारले निर्देशिकालाई खारेज गर्ने निर्णय गरेको हो ।

 

यसअघि नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ अन्तर्गत सञ्चालित थियो । सरकारले सुशासनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ मा व्यवस्था थप गर्दै तीनै तहका सरकारी निकायले आफ्नो स्रोत र साधनको उपलब्धताको आधारमा कम्युटरिकृत सूचना प्रविधिलाई अन्तरआवद्धता गरी प्रयोगमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले २०७६ सालमा पहिलोपटक नागरिक एप लन्च गरेको थियो । अहिले उक्त एपमा २ दर्जन सेवालाई आबद्ध गरिएको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले आइतबार निधन भएका बरिष्ठ पत्रकार भैरव रिसालप्रति श्रद्धाञ्जली व्यक्ति गर्नेदेखि नागरिक एपसम्बन्धी निर्देशका खारेज गर्नेसम्मका १३ वटा निर्णयहरू गरेको छ ।

सरकारले चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र सो टोलीलाई वार्ता गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

आगामी वैशाख २६ र २७ गते भुटानको थिम्पुमा आयोजना हुने 18th South Asia Power Secretaries Roundtable (PSRT) कार्यक्रममा सहभागी हुन सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिवलाई पठाउने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव प्रा. राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गरेको छ ।

नेपाली सेनाअन्तर्गत एक जनालाई महासेनानीबाट सहायक रथी दर्जामा बढुवा गर्ने, एक जनालाई सहायक रथीबाट उपरथी दर्जामा बढुवा गर्ने र एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा (भोटो देखाउने जात्रा) र मिननाथ रथयात्राको लागि ६६५.९७ क्यू.फिट काठ गुठी संस्थानलाई उपलब्ध गराउने र उक्त वन पैदावारको हुन आउने राजश्व रोयल्टी मिनाहा गर्ने सरकारको निर्णय छ ।

साथै, वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिएको छ ।Nepali views

प्रकाशित मिति : २०८१ चैत्र २५ गते मङ्गलवार