२०८३ भाद्र २८ गते आइतवार

याेगि नरहरीनाथ प्रतिष्ठानले याेगि नरहरीनाथकाे १११ औं जन्मजयन्ती मनायो विश्वविद्यालयका उपकुलपति गौतमले गरे सम्बाेधन



याेगि नरहरीनाथ प्रतिष्ठानले याेगि नरहरीनाथकाे १११ औं जन्मजयन्ती मनायो विश्वविद्यालयका उपकुलपति गौतमले गरे सम्बाेधन

स्वाभिमान खबर , फागुन १७
कमल कुमार शाही

याेगी नरहरीनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले राष्ट्रगुरु याेगी नरहरिनाथ याेगीकाे १११ औं जन्मजयन्ती मनाएको छ । फागुन १७ गते सनिवार प्रतिष्ठानले वीरेन्द्रनगर सुर्खेतमा मंगलगढी चाेक देखि प्रतिष्ठान स्थलसम्म र्याली सहित ओपचारिक कार्यक्रमकाे आयोजना गरि राष्ट्रगुरु याेगिकाे जन्मजयन्ती मनाइएको हाे । साे अवसरमा कर्णाली प्रदेशका प्रदेश प्रमुख मा. यज्ञराज जोशीज्यूको प्रमुख आतिथ्यतामा आयोजित वैदिक साम्यवादी नामक कृति विमोचन तथा सम्मान कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुब कुमार गौतमज्यूले विशेष अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियोे ।

सम्बोधनका क्रममा उहाँले योगी नरहरीनाथ संगै आफुले विभिन्न अभियान र देश दौडाहाको क्रममा बिताइएका पलहरु सम्झिदै उहाँको योगदान प्रति सम्मान व्यक्त गर्नुभएको थियो । कर्णाली प्रदेशको कालिकोटमा जन्मिनुभएका योगी नरहरीनाथले नेपालको संस्कृती, इतिहास र भाषाको क्षेत्रमा गर्नुभएको योगदानलाई स्मरण र नमन गर्दै अहिलेको पुस्ता र हामी सबैले उहाँको रचनाको जगेर्ना र प्रवर्धन गर्नु पर्ने जिम्मेवारी समेत आएको उल्लेख गर्नुभएको थियो ।

योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, वीरेन्द्रनगर, सुर्खेतद्वारा आयोजित उक्त कार्यक्रममा शिक्षा क्षेत्रमा विशिष्ट याेगदान गरेका व्यक्ति महेन्द्र गिरी , प्रा डा पिताम्बर ढकाल लगायत विभिन्न क्षेत्रमा विशिष्ट याेगदान गर्ने प्रतिष्ठानलाई सहयोग गर्ने व्यक्तिलाई प्रतिष्ठानका अध्यक्ष धर्म शाहीज्यूले सम्मान गर्नुभएको थियो ।भने कार्यक्रममा विद्यार्थीहरुले आफ्नो सांस्कृतिक कला तथा नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रममा विभिन्न क्षेत्रका सम्मानित महानुभावहरुको उपस्थिति रहेको थियो ।

योगी नरहरिनाथ (वि.सं. १९७१–२०५९) नेपालका एक प्रख्यात योगी, इतिहासकार, लेखक, र पुरातत्वविद् थिए। उनको जन्म वि.सं. १९७१ फाल्गुन १७ गते (सन् १९१५ फेब्रुअरी २८) कालिकोट जिल्लाको लालु गाउँमा ललितसिंह थापा र गौरादेवीका सुपुत्रका रूपमा भएको थियो। बाल्यकालमा उनको नाम बलवीरसिंह थियो।

आठ वर्षको उमेरमा उपनयन संस्कार गरेपछि, उनले जुम्लाको चन्दननाथ मन्दिरमा गुरु क्षिप्रनाथबाट शिक्षा प्राप्त गरे। त्यसपछि उनले भारतका विभिन्न स्थानहरूमा संस्कृत भाषा र वेद, वेदान्त, इतिहास, पुराणतत्त्व जस्ता गूढ विषयहरूको अध्ययन गरे।

योगी नरहरिनाथले २८ विभिन्न भाषामा ६०० भन्दा बढी पुस्तकहरू लेखेका छन्, जसमा नेपाली इतिहास, संस्कृति, र पुरातत्त्व सम्बन्धी महत्वपूर्ण योगदानहरू छन्। उनले नेपालको विभिन्न ऐतिहासिक र पुरातात्त्विक स्थलहरूको भ्रमण गरी अनुसन्धान र अध्ययन गरेका थिए। उनको काव्यकृति ‘शिखरिणी यात्रा’ मा नेपालका विभिन्न स्थानहरूको यात्रा वर्णन गरिएको छ, जसमा राष्ट्रवाद र प्रकृतिप्रेम झल्किन्छ।

वि.सं. २०५९ फाल्गुन १३ गते (सन् २००३) काठमाडौँको मृगस्थलीस्थित गोरखनाथ आश्रममा उनको निधन भयो। नेपालको इतिहास, संस्कृति, र अध्यात्म क्षेत्रमा उनको योगदान सदैव स्मरणीय रहनेछ।

यो पनि
राष्ट्रगुरु याेगी नरहरिनाथ याेगीकाे बारेमा
तीन तीन चोटी मरेर बाँचेका योगी नरहरि नाथ कसरी इतिहासकार भए ?

वि.सं.१९७१ को फागुन १७ गते कर्णाली किनारको अछामसँग जोडिएको कालिकोटको लालु गाउँको चाखा भँडारीबाडामा ललितसिंह थापा र गौरादेवीको सुपुत्रको रुपमा जन्मेका योगी नरहरिनाथको नाम बलबीरसिंह थियो । यिनले आफ्न बाबुका साथ ८ वर्षको हुँदा पहिलोचोटी बडिमालिका खेचर कैलाश आदि तीर्थहरूको यात्रा गर्ने अवसर पाएका थिए । यिनलाई १३ वर्षको उमेरमा गुरु क्षिप्रानाथले जुम्लाको भैरवनाथ मन्दिर हातामा रहेको पाठ्शालामा पढाउने व्यवस्था मिलाएका थिए । एक रात कोठामा अबेलासम्म बत्ती बलेको देखेर निभाउन पुगेका गुरुले बलबीरसिंहले टुपीमा डोरी बाधेर पढेको देख्दा छक्क परे । उनलाई लाग्यो बलबीर गुरु गोरखनाथ जस्तै महान सन्त बन्न सक्छ । त्यसैले उनले बलबीरलाई कानचिरेर नरहरिनाथ मात्र नबनाई उनलाई बनारस हरिद्वार खन्ना आदि शहरका राम्रा विद्यालयहरूमा पढाउनुका साथै मद्रासको संस्कृत विश्वविद्यालयबाट बी.ए. अनर्स गर्नसम्म सघाए ।

योगीले झण्डै ३ वर्ष तिब्बतदेखि श्रीलंकासम्म र अफगानस्तानदेखि म्यानमारसम्मका विभिन्न मठमन्दिर र अखडाहरूमा सत्संग गर्न पुगे । यसबाट उनले दक्षिण एसियाको समग्र सभ्यता संस्कृति भाषा भूगोल र इतिहास जान्ने अवसर पाए । यस कार्यबाट फर्केर आएपछि उनले इन्दोरको विक्रमादित्य विश्वविद्यालयमा केही समय पुरातत्व सम्बन्धि विशेष अध्ययन पनि गरे । योगीलाई आफ्नो नाथ सम्प्रदायका गुरुहरूले जस्तै धर्म संस्कृति र समाजको नैतिक उत्थानमा लाग्ने इच्छा थियो तर दक्षिण एसियाका जुनठाउँ गएपनि त्यहाँ जातीय जागरण अभियानले उनलाई मोहित पा¥योे ।

दूर हटो रे दुनिया वाले हिन्दुस्तान हमारा है……. यसै नारामा एक कट्टर हिन्दू नाथसम्प्रदायका युवा योगी पूर्णरुपमा आन्दोलित भए । कारागारमा उनी लालबहादुर शास्त्रीजस्ता व्यक्तित्वका साथ कैयौं वर्ष जेल जीवन भोग्न बाध्य भए । अंग्रेजहरूले उग्रक्रान्तिकारी योगी नरहरिनाथलाई कराँची कारागारमा मारेर गन्हाउने लासहरूको बीचमा फालेकोमा उनी पहिलो चोटी बाँचेका थिए । ई.संं १९४७ मा जेल मुक्त भएपछि उनी राजस्थान पुग्दा त्यहाँ रेलका डिब्बा भरेर मुसलमानहरूले मारेर फालेका सयौं लासहरू आउँथे । योगी र उनका मित्रहरूले लगातार तिनीहरूको सद्गत गर्थे ।

त्यसैबीच महात्मगान्धी र जवाहरलाल नेहरूले इतिहासकार राहुल सांकृत्यायनसँग तीन दिनसम्म मन्सुरीको एक होटेलमा गुप्त रुपमा मन्त्रणा गरेर समग्र दक्षिण एसियामा सँधै दिल्लीले शासन गरेको इतिहास निर्माण गर्ने सहमतिअनुसार पाठ्यसामग्री तयार गरियो । उक्त सामग्री विद्यालयदेखि विश्वविद्यालयसम्म आउँदा कतिपय देशको इतिहास मेटाउने काम भएको पाइयो । हिमालयदेखि समुन्द्रसम्म हिन्दुस्तानमात्र भएको कथित भारतवर्षको पाठ्यक्रमहरू देखेपछि सर्वप्रथम नेपाली विद्यार्थीहरूले विद्रोह गरे । डिल्लीरमण रेग्मीको नेतृत्वमा वनारस हिन्दू विश्वविद्यालयमा ज्यादै प्रभावशाली आन्दोलन भयो । हिन्दूहरूका लास जलाएर बसेका योगी नरहरिजस्ता नेपाली युवाहरू पनि क्रुद्घ भएर आन्दोलनप्रति कुनै न कुनै रुपमा संलग्न भए । विश्वमा कहिल्यै पराधीन नभएको शिवको राज्य नेपाललाई अरु कुनै देशको अधिनमा रहेको देखाउने कुरा सबै नेपालीहरूका लागि सैह्य हुने कुरै थिएन । त्यसैबीच अंगे्रजहरूको देश टुक्र्याउने खेलमा लागेको आरोप लगाएर नाथुराम गोड्सेले गान्धीको हत्या गरेपछि पाकिस्तानबाट हिन्दूहरूका लासहरू आउन बन्द भयो । दिल्लीले कथित भरतखण्डे…. को जाली इतिहास बनाएकोमा मनमनै व्यथित योगी नरहरि हरिद्वारमा नुहाएर कैलाशतिर जान हिड्ने तयारी गरिरहेको बेला सन्त क्षिप्रानाथले दिएको जानकारीका आधारमा काठमाडौँबाट बबर सम्शेरले पठाएका व्यक्तिहरूसँग योगीको भेट भयो । नेपालको वास्तविक इतिहास विश्वसामु ल्याएर यसको स्वाधीनताको रक्षामा समर्पित हुने योगीको सपनालाई पूरा गर्न नेपालबाट निम्तो आएको जस्तो भयो जसले बोलाए पनि भगवान पशुपतिनाथकै आदेश हो भन्ने ठानेर योगी वि.सं. २००२ मा नेपाल हिडे ।

सर्वप्रथम योगीले गोपाल वंशावली भन्ने बीरपुस्तकालयमा रहेको हस्तलिखित ग्रन्थबाट नेपालको सानोतिनो इतिहासको जानकारी लिने मौका पाए । त्यसै ग्रन्थमा सिंजा साम्राज्यका अधिपत्ति रीपु मल्लले काठमाडौँमा दुईवर्ष शासन गरेको उल्लेख भएकोले योगी वि.सं. २०१२ मा दुल्लु पुगेर त्यहाँ महाराज पृथ्वी मल्लले स्थापना गराएको कृतिखम्बमा उल्लेखित सिंजाका मल्ल राजाहरूको बंंशावलीका आधारमा पश्चिम नेपालको कुनै कालखण्डको एक विशाल साम्राज्यको इतिहासलाई सार्वजनिक गर्न सफल भए । योगीको ऐतिहासिक अनुसन्धानले अन्तर्राष्टिय रुपमा हलचल मच्चियो । वि.सं. २०१४ मा त इटालीका तिब्बत विशेषज्ञ मानिने इतिहासकार जिसेफ टुची नै सिंजा पुगेर डिस्कभरी अफ मल्लाज जस्ता कृति लेख्न पुगे ।

वि.सं. २०४८ मा योगी नरहरिनाथको बाजुरा र कालिकोट हुँदै जुम्ला भ्रमणका क्रममा शेरढुस्का भन्ने ठाउँमा महाराज पृथ्वी मल्लको एउटा ताम्रपत्र भेटियो । कसैलाई भूमिदान दिएको उक्त ताम्रपत्रबारे योगीले त्यहाँ उपस्थित सबैलाई त्यसको विशेषता के पायौँ भनी प्रश्न गरे । उक्त अवसरमा पंक्तिकारलगायतका धेरै विद्वानहरूले आ–आफ्नै पाराले त्यसको वर्णन गरेपनि योगी सन्तुष्ट भएनन् । छलफलको अन्तमायोगीले विशेष प्रवचन दिदै यो ताम्रपत्रको भाषाले नेपाल एक स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र थियो भन्ने प्रमाणित गर्छ भन्ने दाबी गरे । पछिल्लो समयमा नेपालको शासन जंगबहादुर राणाको समयदेखि मुलुकी ऐनकाआधारमा चल्ने गरेको र त्यो ऐन दिल्लीका शासक अकबरले बनाएको आइने अकबरीका आधारमा बनेकोले नेपाल दिल्लीद्वारा शासित थियो भन्ने राहुल साँकृत्यायनको तर्कलाई पृथ्वी मल्लको ताम्रपत्रको शुद्घ नेपाली भाषाको प्रयोगले पूर्णरुपमा खण्डन गर्छ भनी भन्दा सभामा उपस्थित सबैले जिब्रो टोके । बालकृष्ण पोखरेलको पाच सय वर्षहोस अथवा योगीका सन्धिपत्र संग्रहहरूमा संकलित हाम्रा प्राचीन लिखतहरूमा कतैपनि फारसी, उर्दू, अंग्रेजी आदिको कुनै पनि प्रभाव देखिन्न । भाषिक शुद्घताले नै नेपालको स्वाधीनता र स्वतन्त्रतालाई कसैले कहिल्यै चुनौती पनि दिन नसकेको इतिहासको रचना नै योगी नरहरि नाथको एकमात्रउद्देश्य थियो ।

लगभग १४ वर्ष हिन्दूस्तानको मुक्तिका लागि क्रियाशील रहेका र सात वर्ष त कराँची जेलमा मात्र विताएका योगी नरहरिनाथ नयाँदिल्ली अथवा वेइजिङले साम्राज्यवादीहरूले जस्तो नेपालमाथि हस्तक्षेप गरेको देख्न चाहन्नथे । तर, नेपालमा दिल्लीले अंग्रेजहरूको औपनिवेशिक नीतिलाई सँधै कायम राख्यो । खासगरी सन् ५० को असमान सन्धि र सुगौली सन्धिमा खोसेको नेपालको ६२ हजार वर्गकिलोमिटर भन्दा बढीको भूभाग हिन्दूस्तानले खाइदिएकोमा उनी धेरै दुःखी थिए । उनले त्यसैले सुगौली सन्धिमा गुमेको नेपालको भू–भागबारे सर्वोच्व अदालतमा फिर्ता लिने माग गरी मुद्दा हालेका थिए । उनलाई हराउने सर्वोेच्चका न्यायधीशलाई दिल्लीले पुरस्कार स्वरुपमा प्रधान न्यायधीश र पछि मन्त्रीपरिषदको अध्यक्ष समेत बनायो ।

५७३ पुस्तक प्रकाशन गर्न सफल भएका योगीले समय र साधन पाएको भए हजारौं पुस्तकको सामग्री संकलन गरेका थिए । सर्वप्रथम त उनले कोशी जस्ता नेपालको जलसम्पदालाई विदेशीलाई सित्तै सुम्पने राष्ट्रिय गद्दारीको हदैसम्म भण्डाफोर गरे । लेखेर मात्रै केही नहुने देखेर उनले हिन्दूस्तानका स्वतन्त्रता सेनानी बीर सावरकरले हिन्दूसभा बनाएजस्तै नेपालमा कर्मबीर महामण्डल भन्ने धार्मिक राजनीतिक दल खडा गरे । नेपाली कांग्रेसको सरकारले पहिले कोशी बेचे जस्तै गण्डकीमात्र नबेचेर हिन्दूस्तानको वनस्पती घ्यू डाल्डाजस्ता अस्वस्थकर सामग्रीहरू नेपाली बजारमा आयात गर्ने अनुमति दिएपछि योगीको नेतृत्वमा देशभक्त नेपालीहरू आन्दोलित भए । राजाको दलाल भन्दै योगीलाई मार्नुपर्छ भन्ने निर्णय सरकारले ग¥यो, धादिङ र गोर्खाका हजारौँ जनसमुदायहरूलाई विद्रोहको झण्डा उचाल्न लगाउने योगीलाई मार्न गोर्खामा प्रहरीको टुकडी खटाइयो । योगी भने तीन दिनमा जुम्ला पुग्ये । त्यहाँ पनि उनलाई बन्दीगृहमा मार्ने हल्ला भएपछि हजारौँ जनताले बडाहाकिमको कार्यालय हेरे र रातारात योगीलाई वर्षाको बेला तराईका जंगलमा लगेर हात्तीबाट कुल्चाएर मार्न खोजियो । त्यतिमात्र नभएर उर्लदो भेलमा डुंगाबाट नदीमा खसालियो तैपनि उनी बाँचे । त्यसपछि भैरहवाको एक हिलैहिलो भएको छिडीमा सर्प बिच्छी लाग्ने र लामखुट्टेजस्ता किरा कनसुत्लाले भरिएको अंध्यारो ठाउँमा खानापिना बेगर फालियो । उनको भाग्यले गर्दा देशमा परचक्रीहरूको इसारामा चल्ने भरौटे सरकार वर्खास्त भयो र सौभाग्यले योगी नरहरिनाथ फेरि बाँचे ।

राष्ट्र खोज्दै हिड्दा योगीले शिक्षामा सुधार गरे सकल सुधार हुन्छ भन्ने नारा दिदै हिंडे । सयांै कोटी होम गरे । सयौँ संस्कृत पाठशाला खोले । त्यतिले उनको चित्त बुझेन । योगीले नेपालको भाषा, साहित्य, संस्कृति, इतिहास सबैलाई प्रमाणका आधारमा खडा गरेर जगत्मा जेठो मानव जातिकै उत्पतिस्थल नेपालको सभ्यतालाई समेट्ने संस्कृत भाषालाई सबै नेपालीलाई पढाउन चाहन्थे । त्यसैले योगीले दाङको बेलझुण्डीमा खडा भएर संस्कृत विश्वविद्यालय निर्माण गर्नका लागि एकचोटी आह्वान गर्दा स्थानिय भूमिपतिहरूले १२ हजार बीघा भूमि प्राप्त भएको थियो । तर, नेपाल दरबारलाई कब्जा गरेर बसेका र फटाहाहरूको बाहुल्य भएको पञ्चमण्डलेहरूले योगीलाई अघि बढ्न रोके, आफ्नो छलछाम र लुटको राज्य तहसनहस हुने डरले त्रस्त थिए । त्यसैले योगीलाई वि.सं. २०३२ सालमा गिरफ्तार गरेर हिरासतमा अनेकथरी यातना दिएर मार्न खोजियो । तर, योगी आफ्नो ब्रह्म शक्तिले बाँचे । योगीका अनन्य भक्त गाेिवन्द काफ्लेले राजमाता रत्नले थाहा पाएर महाराज बीरेन्द्रलाई रिसाएपछि उनले योगीलाई थुनेको त थाहै छैन भनेर छुटाएको बताउँछन । एक अर्को सूत्रले योगीका चेला धीरेन्द्र ब्रह्मचारीले इन्दिरा गान्धीलाई भनेर योगीलाई छुटाएको पनि बताइन्छ । बालब्रह्मचारी योगीलाई आफ्नो देश बाहेक अरु कुनै स्वार्थ थिएन् । यस्ता व्यक्तिलाई पनि पटक पटक मार्न खोजियो । तर, नेपाली जनता योगीले छोडेर गएको संघर्षशील देशभक्तिपूर्ण परम्परा र उनले निर्माण गरेको इतिहासप्रति सँधै नतमस्तक छन् ।(प्रेम कैदी )

 

 

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार