राष्ट्रिय युवा संघद्वारा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न, पछिल्लो राजनीतिक अवस्थामाथि विश्लेषण
कमल कुमार शाही
स्वाभिमान खबर,असोज ३१ अछाम
अछाम । राष्ट्रिय युवा संघ नेपाल पञ्चदेवल विनायक नगर कमिटीको आयोजनामा अछामको बाल्यमाण्डुमा भव्य ‘भेटघाट तथा चियापान कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा देशको पछिल्लो राजनीतिक अवस्था, संगठन सुदृढीकरण र युवाको भूमिकामाथि गम्भीर छलफल गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिहरूले युवाहरू देशको रूपान्तरणका मुख्य आधार हुन् भन्दै राजनीतिक अस्थिरता, बेरोजगारी र सामाजिक विभाजनका चुनौतीबीच युवाशक्तिले सकारात्मक परिवर्तनको बाटो पहिल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँका शब्दमा, “राष्ट्रिय युवा संघले देशभर संगठनात्मक एकता, विचारको स्पष्टता र अनुशासनका माध्यमबाट राष्ट्रलाई नयाँ दिशामा लैजान सक्छ।”
कार्यक्रममा संविधान सभा सदस्य भरत साउद, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य नन्दबहादुर कडायत र भिमबहादुर बिष्ट, जिल्ला कमिटी सचिव हिरिण्ड भट्टराई, जिल्ला उप–सचिव टोपबहादुर शाही, पूर्व जिल्ला अध्यक्ष चन्द्र बोहरा, तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बीसी, र मंगलसेन नगर उप–प्रमुख संगिता रावल सोडारी लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले हालको राजनीतिक परिदृश्य, दलगत स्वार्थ, अस्थिर सरकार र युवाको सीमित भूमिकाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रलाई स्थायित्व र सुशासनको दिशामा अघि बढाउन युवाहरूले सक्रिय नेतृत्व लिनुपर्नेमा जोड दिए। उनीहरूले दलगत विभाजनभन्दा माथि उठी राष्ट्रिय एकता र विकासको साझा एजेन्डामा जोड दिनुपर्ने धारणा राखे।
त्यस्तै, उपस्थित नेताहरूले राष्ट्रिय युवा संघ नेपालले पछिल्ला वर्षहरूमा स्थानीय तहदेखि केन्द्रसम्म संगठनात्मक गतिविधि, जनसंपर्क र सामाजिक अभियानमार्फत युवामा राजनीतिक चेतना जगाउने महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
कार्यक्रमको अन्त्यमा सहभागीबीच शुभकामना आदान–प्रदानसहित चियापान कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा विभिन्न स्थानीय नेतागण, युवाहरू, समाजसेवी र पत्रकारहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।













प्रतिक्रिया दिनुहोस्