२०८३ साउन १२ गते मङ्गलवार

श्रमिक दिवसको उत्सव, तर अनुभूति छैन – दैनिक श्रमिक भन्छन्, ‘भोलिको काम छ कि छैन, त्यही चिन्ता छ’



श्रमिक दिवसको उत्सव, तर अनुभूति छैन – दैनिक श्रमिक भन्छन्, ‘भोलिको काम छ कि छैन, त्यही चिन्ता छ’
देपेन्द्र बहादुर शाही
स्वाभिमान खबर , बैशाख १८
काठमाडौं,
देशभर अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) भव्यताका साथ मनाइँदैछ। राजधानीका सडकहरू ¥याली, नाराबाजी र ब्यानरले भरिएका छन्। सरकार र ट्रेड युनियनका नेताहरूले श्रमिकको योगदानको प्रशंसा गर्दै भाषण गरिरहेका छन्। तर शहरका भित्री गल्ली, चोक र निर्माणस्थलहरूमा पसिना बगाइरहेका दैनिक श्रमिकहरू भन्छन् – ‘श्रमिक दिवस हामीलाई छुंदैन।’

दैनिक श्रमिक: दिन मिल्यो भने चुल्हो बल्छ

सुन्धारास्थित एक निर्माणस्थलमा भेटिएका ५२ वर्षीय गंगा बहादुर सुनार बिहान ७ बजेदेखि इँटा बोकिरहेका थिए। उनी भन्छन्,
“आज के दिवस हो थाहा छैन। सँगै काम गर्ने साथीले मात्रै भनेका थिए आज श्रमिक दिवस रे। तर हाम्रा लागि त दिन मिल्यो भने चुल्हो बल्छ, नत्र उपवास हो।”

उनको कथा अपवाद होइन। नेपालमा करिब ७१ लाख श्रमिकमध्ये ८४.६ प्रतिशत अनौपचारिक क्षेत्रमा कार्यरत छन्। दैनिक मजदुरी गर्ने श्रमिकहरूको जीवन श्रम कानुन, सामाजिक सुरक्षा वा नीति घोषणाभन्दा टाढा छ। यिनीहरूलाई न न्यूनतम पारिश्रमिकको ग्यारेन्टी छ, न त बीमा वा सेवासुविधा।

श्रमिक दिवस = र्‍याली, भाषण, ब्यानर

दैनिक श्रमिकहरूमध्ये धेरैजसोले श्रमिक दिवसको न त अर्थ बुझेका छन्, न त त्यसको कुनै अनुभूति गरेका छन्। ललितपुरको सातदोबाटोमा रेगन बोकिरहेका २८ वर्षीय रामु माझी भन्छन्,
“हामीजस्ता मान्छे त कुनै दिवसमा पर्दैनौं। काम पाउने, पैसा समयमै हात पर्ने — त्यो नै हाम्रो ‘दिवस’ हो।”

राजधानीमा देखिने श्रमिक दिवसको दृश्य औपचारिक क्षेत्रका कर्मचारी, ट्रेड युनियन र राजनीति नजिक रहेका श्रमिक संगठनमा केन्द्रित देखिन्छ। तर सडक, भित्तो, गोदाम, पसल र चउरमा पसिना बगाउने मजदुरको आवाज ती दिन ओझेलमा पर्छ।

किन अनुभूति छैन उनीहरूलाई?

संगठनमा आवद्धता छैन: दैनिक श्रमिकहरू कुनै ट्रेड युनियन वा श्रमिक संगठनमा आबद्ध छैनन्। तसर्थ उनीहरूका मुद्दा न त उठ्छन्, न सुन्ने कोही हुन्छ।

सामाजिक सुरक्षाबाट वञ्चित: दैनिक श्रमिकहरू सामाजिक सुरक्षा कोषको पहुँचमा छैनन्। बीमा, पेन्सन वा आपतकालीन सहायताको व्यवस्था छैन।

नीति कार्यान्वयन कमजोर: श्रम ऐनले उनीहरूलाई समेट्ने व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। स्थानीय तहमा श्रमिकको दर्ता, न्यूनतम पारिश्रमिकको निगरानी गर्नेतर्फ गम्भीरता छैन।

वास्तविक सुधारको बाटो के?

स्थानीय सरकारमार्फत श्रमिक दर्ता र श्रम कार्ड वितरण गर्नुपर्ने माग मजदुर अधिकारकर्मीहरूले गर्दै आएका छन्।

न्यूनतम पारिश्रमिक कार्यान्वयन अनुगमन गर्न छुट्टै संयन्त्र चाहिएको उनीहरूको तर्क छ।

सामाजिक सुरक्षा कोषमा अनौपचारिक श्रमिकलाई स्वेच्छिक सहभागिता सहज बनाउनु पर्ने आवश्यकता देखिन्छ।

श्रमिक दिवसको सार भनेको श्रमिकको सम्मान र सुरक्षामा निहित छ। तर जब दैनिक श्रमिक त्यो दिवसको अर्थ, अनुभूति वा प्रभावबाट टाढा हुन्छन्, तब त्यो दिवसको औचित्यमाथि प्रश्न उठ्छ। उनीहरूका लागि श्रमिक दिवस तब मात्रै अर्थपूर्ण हुनेछ, जब उनीहरूको श्रमको मूल्य, अधिकार र सुरक्षा व्यवहारमा लागू हुनेछ—ब्यानरमा होइन, जीवनमा।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार