आजदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन सुरु हुँदै
स्वाभिमान खबर ,फागुन १६
देपेन्द्र बहादुर शाही
काठमाडौं । आजदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन सुरु हुँदै छ। महाधिवेशन यही फागुन १९ गतेसम्म चल्ने सो पार्टीले जनाएको छ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले नेमकिपाको आठाैँ महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा केन्द्रित भएर वृहत् छलफल गर्दै विभिन्न एजेन्डा पारित गर्ने बताए। उनले महाधिवेशनका लागि काठमाडौं, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने जानकारी दिए।
आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौंको कोटेश्वर, ताथलीलगायत ठाउँमा बाजागाजा, झाँकी, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै दिउँसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटन सत्रमा परिणत हुने उनले बताए।
अध्यक्ष नारायणमान बिजुक्छे रोहितको नेतृत्वमा ०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको जानकारी दिँदै उनले पार्टीको पहिलो महाधिवेशन ०४७ मा भैरहवामा भएको बताए । पार्टीको साताैँ महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ।
यसअघिको सातौँ महाधिवेशनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । जसमा २३ केन्द्रीय र दुईजना वैकल्पिक केन्द्रीय सदस्य रहेका थिए । यस वर्ष महाधिवेशनले बिजुक्छेलाई नै अर्को कार्यकालका लागि चुन्ने हो वा नयाँ नेतृत्व आउने हो भन्ने चासो सर्वत्र छ ।













प्रतिक्रिया दिनुहोस्