सरकार, सत्ता, शक्ति र सत्य-पवन मधुश्री
स्वाभिमान खबर , फागुन २
कमल कुमार शाही
मानव इतिहासका पाना हेर्नुहोस् सत्ता र शक्ति अन्धो हुन्छ । एकजना पाश्चात्य विद्वानले सरकारलाई शक्ति दिनु र टिनएजरको हातमा पेस्तोल दिनुमा कुनै भिन्नता छैन भनेका थिए । दार्शनिक सुकरातलाई त्यहाँको युनानी सत्ताले मृत्युुदण्ड दिएको थियो तर सुकरात गलत थिएनन् । सुकरातले सत्यको पक्षमा विष सेवन गरेका थिए । आफ्ना गुरु सुकरातको सत्यवादी चिन्तनबाट प्रेरित प्लेटो सत्ताले गुरुलाई दिएको फाँसीबाट वैराग्य भएर साधनाको महायात्रामा हिँडेपछि महान् दार्शनिक बनेका थिए, सत्ताले उनलाई पनि लखेटेको थियो ।
रोमका पादरी सेन्ट भ्यालेन्टाइन गलत थिएनन्, तर त्यहाँको अन्धो रोमन क्लाउडियस द्वितीयको सत्ताले उनलाई फाँसी दियो । जोन बापिष्ट सत्यवादी थिए तर उनलाई पनि फासिस्ट सरकारले सत्यको मार्गमा हिँडेको सहन नसकेर मृत्युदण्ड दियो । आफ्ना गुरु बापिष्टलाई दिएको मृत्युदण्डबाट वैराग्य बनेका चेला जिसस् क्राइष्टलाई सत्ता र सरकारले लखेटी रह्यो । तर क्राइष्ट सत्यका लागि सतिसाल थिए र महान् बने । भन्थे- ईश्वरको राज्यमा घमण्ड र इर्ष्याको स्थान हुँदैन ।
तपाईले आफ्ना छिमेकीलाई गाली गर्नु कुन ठुलो कुरा भयो र, ठुलो कुरा त तपाईंलाई गाली गर्नेहरूको कल्याणका लागि प्रार्थना गर्नु हो र कसैले गालामा थप्पड हान्छ भने अर्को गाला थापी दिनु हुँदैन भने सहनशीलताको अर्थ हुँदैन । तर तिनै क्राइष्टलाई क्रुशमा झुण्ड्याइयो ।
कार्ल मार्क्स करोडौ मजदुरका मसिहा थिए, तर आफ्नै देशबाट उनी लखेटिए । नेल्सन मण्डेला रंगभेदका विरोधी र दमन उत्पीडित जनताका सारथि थिए तर उनलाई २७ वर्ष जेल कोचियो । महात्मा गान्धी अहिंसावादी थिए तर उनैलाई नाथुराम गोड्सेबाट मार्न लगाइयो । रजनिश विचारक थिए तर उनलाई देश निकाला गरियो ।
अब नेपालकै कुरा गरौं- भिमसेन थापा देशभक्त सिपाही थिए तर उनी काँचले सेरिएर मर्नु परयो, भीम मल्लको हालत त्यस्तै भयो । विशाल नेपालका अभियन्ता बहादुर शाह लखेटिएर निर्वासनमा बस्नु परयो, धर्मभक्त, दशरथ चन्द, शुक्रराज र गंगालाल श्रेष्ठ न्याय र सत्यका लागि सङ्घर्ष गरेकै कारण फाँसीमा चढाइए ।
यस्ता सयौं दृष्टान्त छन् न्याय, सत्य र मानवताका पक्षपातीहरूलाई सत्ता र सरकारले सधैं लखेटेको छ, फाँसी दिएको छ । जयपृथ्वीबहादुर सिंह महान् दार्शनिक थिए तर उनले झेलेका सङघर्षका गाथा कम छैनन्, विद्वानहरूको लामो प्रयासपछि बल्लतल्ल सरकारले हालसालै मात्रै सरकारले राष्ट्रिय विभूति स्वीकार गरेको छ भने महान् विचारक योगी नरहरिनाथको योगदानलाई राज्य अहिलेसम्म सम्झिन तयार छैन । महान् कलाकार अरणिकोलाई संस्कृतिविद् सत्यमोहन जोशीले नचिनाइदिएको भए अन्धो सत्ता र सरकारले चिन्ने नै थिएन ।
सत्य, न्याय र मानवताको बाटो सजिलो छैन, जो सुकैले यो बाटो हिँड्नै सक्दैनन् र सरकार र सत्ता सधैं यो बाटोको विपक्षमा हुन्छ । सरकार र सत्ताले भ्रष्टाचारी र बेथितिलाई अंगालो हालेर यसका विरोधिलाई लात हानेर गल्हत्याउँछ । सत्ता र सरकारले अपराधीलाई दूधले नुहाएर चोख्याउन सक्छ ।
मानव र सुन तस्करीहरूमध्ये छानीछानी आफ्नालाई जोगाउछँ र इतरवाला भरियाहरूलाई जेलमा कोच्छ । सरकार र सत्ताले बालुवाटार जग्गा काण्डका निर्णयकर्तालाई सुनपानी छर्किन्छ र साना माछा समात्छ । सरकार र सत्ताले चाह्यो भने जस्तोसुकै अपराध गर्न पनि छूट दिने कानुन बनाउन सक्छ ।
अत: सत्ता र सरकार अन्धो हुन्छ । उसको धर्म नै सत्ताको स्वार्थ हो, धन हो, शक्ति हो । धन र शक्ति प्राप्त गर्न उसले विकृति, विसंगति र भ्रष्टाचारको भाँडो समाउनैपर्छ । उसका अगाडि सत्य, न्याय र मानवता केही होइनन् । उ स्वार्थका लागि जे पनि गर्न तयार हुन्छ । त्यसैले सत्ता र सरकारले दिने दु:खलाई स्वाभाविक मान्नुपर्छ । सत्य, न्याय, विधि र मानवताको बाटोमा हिड्नेलाई सत्ता र सरकारले निरन्तर लखेटिरहन्छ ।
( लेखक – बडीमालिका नगरपालिका प्रशासनिक प्रमुख हुनुहुन्छ )













प्रतिक्रिया दिनुहोस्